काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको समाचार स्रोतले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यराति करिब ३ बजे जबरालाई निवासबाट नियन्त्रणमा लिएको थियो । सुरुमा प्रहरीले उनलाई पक्राउ गरेको पुष्टि गरे पनि पछि ‘सुरक्षा थ्रेट’का कारण सुरक्षित स्थानमा ल्याइएको दाबी गरेको छ । प्रहरीले भने उक्त सुरक्षा चुनौती के थियो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।
जबराका परिवारका अनुसार प्रहरी टोलीले आफूविरुद्ध सुरक्षा खतरा रहेको जानकारी गराएपछि जबराले घरमै थप सुरक्षाकर्मी खटाउन आग्रह गरेका थिए । तर प्रहरीले उनलाई आफ्नो साथमा लिएर गएको थियो । परिवारलाई समेत उनीमाथि कुनै आरोप वा मुद्दा रहेकोबारे स्पष्ट जानकारी दिइएको थिएन ।यसैबीच, जबरालाई भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट गर्न नदिएको स्रोतले जनाएको छ । आयोगको टोलीले प्रहरी कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नपाएपछि फर्किएको बताइएको छ ।
जबरालाई कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषयसमेत स्पष्ट हुन सकेको छैन । उपलब्ध विवरणअनुसार उनीविरुद्ध कुनै अदालतबाट पक्राउ पुर्जी जारी भएको पुष्टि भएको छैन । कानुनका जानकारहरूले समेत उच्च तहका पूर्वन्यायिक पदाधिकारीलाई नियन्त्रणमा लिँदा त्यसको कानुनी आधार र प्रक्रिया स्पष्ट हुनुपर्ने भन्दै प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् । जबरालाई मध्यराति निवासबाट लैजानुपर्ने अवस्था किन आयो, सुरक्षा खतरा के थियो र घरमै सुरक्षा दिनुको सट्टा प्रहरी कार्यालयमा राख्नुपर्ने कारण के थियो भन्ने प्रश्न भने अझै अनुत्तरित छन् । परिवारको जिम्मामा फिर्ता गरिएसँगै घटना थप रहस्यपूर्ण बनेको छ ।