काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि नेपाल ल्युब आयल लिमिटेडको गल्फ लुव्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीच साझेदारी नवीकरण भएको छ ।
हालै आयोजित एक कार्यक्रममा साझेदारी नवीकरणको घोषणा गरिएको हो । सम्झौताअनुसार गल्फ लुव्रिकेन्ट्सले नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्ससँग सहकार्य गर्नेछ । साझेदारीसँगै गल्फले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई लक्षित गरी सीमित संस्करणको गल्फ प्राईड फोर टी प्लस २० डब्लू– ५० को प्रिमियर लिग इन्जिन आयल बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार उक्त उत्पादन असोज १५ देखि मंसिर १४ गतेसम्म सीमित अवधिका लागि उपलब्ध हुनेछ । नेपाल ल्युब आयलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करणकुमार चौधरीले साझेदारीलाई निरन्तरता दिँदै क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता र मेकानिकसँगको सम्बन्ध थप विस्तार गर्ने लक्ष्य रहेको बताए ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले गल्फसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी व्यक्त गर्दै साझेदारीले प्रतियोगिता र समर्थकबीचको सम्बन्ध थप बलियो बनाउने बताए । सीमित संस्करणको उत्पादन गल्फ र जनकपुर बोल्ट्सको ब्रान्ड पहिचानलाई आधार बनाएर तयार गरिएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत उक्त उत्पादन बिक्री गर्ने खुद्रा विक्रेतामध्ये सबैभन्दा बढी बिक्री गर्ने विक्रेतालाई सम्मान गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ ।
साझेदारीअन्तर्गत डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, गल्फको बजार सञ्जाल तथा विभिन्न उपभोक्ता र बजारकेन्द्रित कार्यक्रम सञ्चालन गर्ने तयारी छ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने तय गरिएको छ ।