काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १६ जनामध्ये दुई जना पर्वतारोहण गाइड मृत फेला परेका छन् । अझै १४ जना बेपत्ता रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार हिमपहिरोमा परी १४ जना किचेन स्टाफ र दुई जना पर्वतारोहण गाइड बेपत्ता भएका थिए । उनीहरू विभिन्न कम्पनीमार्फत हिमलुङ हिमाल पुगेका थिए। खोज तथा उद्धारका क्रममा दुई जना पर्वतारोहण गाइडको शव फेला परेको भए पनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।
हिमपहिरो गएको क्षेत्रमा खोज तथा उद्धारका लागि एसोसिएसनको टोली प्रभु हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ । टोलीले घटनास्थलमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ। खोज तथा उद्धारका लागि मिङ्मा जी, पासाङकाजी शेर्पा, आशिष गुरुङ र पेम्बाछिरिङ शेर्पा घटनास्थल पुगेका छन् । थप चार जना उद्धारकर्मीलाई समेत घटनास्थलतर्फ पठाउने तयारी भइरहेको एसोसिएसनले जनाएको छ।