काठमाडौ, नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमाथि उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न माग गरेको छ । बारले बिहीबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटका विषयमा निष्पक्ष, स्वतन्त्र र समयबद्ध छानबिन गर्न माग गरेको हो ।
न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणमाथि सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई सञ्चारमाध्यममा प्रकाशित समाचारमा मात्र सीमित राख्न नहुने बारको भनाइ छ । पछिल्ला दिनमा सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटका विवरण विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् । प्रधानन्यायाधीशसमेतलाई जोडेर समाचार प्रकाशित भएपछि यस विषयले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको बारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बारले सार्वजनिक भएका समाचार र आरोपलाई नै अन्तिम सत्य वा कसुर प्रमाणित भइसकेको निष्कर्षका रूपमा लिन नमिल्ने पनि स्पष्ट पारेको छ । प्रत्येक व्यक्तिलाई निष्पक्ष छानबिन, आफ्नो धारणा राख्ने अवसर र प्रचलित कानुनबमोजिम न्यायिक प्रक्रियाको प्रत्याभूति हुनुपर्नेमा बारले जोड दिएको छ । तर, न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र संस्थागत विश्वसनीयतासँग प्रत्यक्ष सम्बन्धित विषयमा गम्भीर प्रश्न उठेकाले विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बारको भनाइ छ ।
बारले न्यायपालिकासँग सम्बन्धित संवेदनशील विषयमा जोडिएका पदाधिकारीले आचारसंहिताको पालना गर्नुपर्ने तथा उच्च पदस्थ व्यक्तिले उच्च नैतिकता प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । बारले सम्बन्धित सक्षम निकायलाई सार्वजनिक भएका विषयमा निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी कानुनविपरीत कार्य भएको प्रमाणित भएमा पद वा हैसियतको परवाह नगरी कानुनबमोजिम कारबाही गर्न पनि माग गरेको छ । बारले अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नुभन्दा प्रमाण, विधिको शासन र निष्पक्ष छानबिनको प्रक्रियालाई सम्मान गर्न पनि अनुरोध गरेको छ ।