दोलखा, मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका तल्लो क्षेत्रका किसान चिन्तित बनेका छन् । दशैँ सकिएसँगै पाकेको धान काटेर भित्र्याउने तयारीमा जुटेका किसान अर्नव चक्रवातको प्रभावले मौसम विग्रिएपछि समस्यामा परेका हुन् ।
भारत हुँदै नेपाल प्रवेश गरेको चक्रवातको प्रभावले मौसममा फेरबदल भई वर्षा हुन सक्ने नेपाल मौसम विभागले पूवार्नुमान गरेको छ । विभागका अनुसार शनिबारसम्म हिमाली तथा पहाडी क्षेत्रमा हिमपात तथा अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने देखिन्छ । वर्षा हुने भएपछि कतिपय किसानहरुले हतार हतारमा धान काटेर थुपारेका राखेका छन् भने कयौँ किसानले धान नै काट्न पाएका छैनन् । कतिपय किसानको धान भर्खर पाकेर काट्ने बेला भएको छ ।
काटेर धान भित्र्याइसकेका किसानलाई खासै समस्या नरहे पनि धान पाकेर ठिक्क काट्ने बेला भएका किसान भने चिन्तित देखिएका छन् । ठूलो पानी परेमा पाकेको धान झर्ने चिन्ताले उनीहरलाई सताएको छ ।
बिहीबार जिल्लाको बैंतीबेँसीका विभिन्न स्थानमा किसानहरू हतारहतार धान काट्ने, काटिसकेको धान चुट्ने तथा खेतबाट बोकेर ल्याउने र सुरक्षित ठाउँमा थन्क्याउने काममा व्यस्त देखिएका थिए । धान खेती किसानको प्रमुख कृषि उत्पादन र जीविकोपार्जनको महत्वपूर्ण आधार भएकाले भित्र्याउने बेलामा मौसममा आएको परिवर्तनले उनीहरूलाई थप चिन्तित देखिन्थे ।
लामो समयको मेहनत र लगानीपछि तयार भएको बाली वर्षाले भिज्ने, खेतमै ढल्ने, असिनापानी लाग्ने डर तथा भिजेको धान सुकाउन नपाउँदा गुणस्तरमा असर पर्ने जोखिम रहेको स्थानीय किसान ढालबहादुर कार्कीले बताए ।
विशेषगरी काटेर खेतमै सुकाउन राखिएको धानमा पानी परेमा किसानलाई थप समस्या हुन सक्छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबार धान नकाट्न अनुरोध गरेको छ । त्यसअघि नै काटिसकेको धान सुरक्षित गर्न किसानहरूलाई भ्याइनभ्याइ भएको छ । मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै किसानले खेतमा पाकेको धान काट्ने वा काटिसकेको धान सुरक्षित स्थानमा पुर्याउने कामलाई प्राथमिकता दिएका छन् । मुख्यगरी जिल्लाको वैतेश्वर, मेलुङ, भीमेश्वर, तामाकोशी, गौरीशंकर, कालिञ्चोक र विगुको तल्लो भूभागमा धान खेती हुने भएकाले ती क्षेत्रमा मौसम परिवर्तनको प्रभाव पर्ने देखिएको छ । यी क्षेत्रका किसान यतिबेला धान भित्र्याउने तयारीमा रहेका छन् । वर्षा भएमा खेतमा रहेको धानसँगै काटेर सुकाउन राखिएको बालीमा समेत क्षति पुग्न सक्ने चिन्ता उनीहरूमा छ ।
धान खेतीमा निर्भर किसानका लागि बाली भित्र्याउने समय निकै संवेदनशील मानिन्छ । मौसमको अवस्थाअनुसार धान काट्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काम गर्नुपर्ने भएकाले प्रतिकूल मौसमले कृषि कार्यतालिकामै असर पुर्याउन सक्ने वैतेश्वर गाउँपालिका कृषि स्नातक अस्विन कुमारले बताए । किसानले मौसम पूर्वानुमानमा ध्यान नदिँदा धान खेतीमा क्षति पुग्नसक्ने उनको भनाइ छ ।