जेरुसेलम, प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको समूहले बिहीबार इजरायली अरब नेताहरूमाथि विदेशी कोषको लेनदेनको अप्रमाणित आरोप लगाएको छ । यो कदम अनिर्णायक निर्वाचनपछि सरकार गठनको कुञ्जी हुन सक्ने दलहरूलाई कमजोर पार्ने प्रयास हो ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले धोखाधडीको आरोपमा अनुसन्धानको माग गरेका छन् । तर उनले सम्पूर्ण अरब इजरायली समुदायलाई कलंकित नगर्न सतर्कता अपनाएका छन् । निर्वाचनमा इजरायली अरब समुदायले अभूतपूर्व दरमा मतदान गरेका थिए । मंगलबारको निर्वाचनको मत गणना लगभग पूरा भएको छ ।
नेतन्याहु वा पूर्व सैन्य प्रमुख गादी आइजेन्कोटको नेतृत्वमा रहेको विपक्षी गुटमध्ये कसैले पनि संसद् ( केनेसेट)मा बहुमत सुरक्षित गर्न नसक्ने देखिएको छ । नेतन्याहु समूहका आरोपहरूलाई एक प्रमुख अरब दलले अस्वीकार गरेको छ । यसले निर्वाचन प्रक्रियाबारे प्रश्न उठाउन सक्ने र अनिश्चितता ल्याउन सक्ने आँकलन गरिएको छ ।
इरानसँग युद्ध फर्कने खतरा यस क्षेत्रमा मडारिरहेको यस बेला इजरायलको निर्वाचनमा इजरायली अरबहरूको सहभागिता व्यापक रह्यो। उनीहरू सन् १९४८ मा देश स्थापनापछि बसेका प्यालेस्टिनीहरूका सन्तान हुन् । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिरजस्ता अधिकारीहरूले उनीहरूको समुदायलाई गाजा र कब्जा गरिएको वेस्ट बैंकका प्यालेस्टिनीहरूजस्तै व्यवहार गर्नुपर्ने आह्वान गरेपछि आक्रोश बढेको थियो।
नेतन्याहुले अनुचितताको आरोप लगाएपछि बेन गभिरले अरब दलका नेताहरूलाई ‘तुरुन्त’ गिरफ्तार गर्न इजरायललाई प्रोत्साहनसम्म दिए । राम दलका नेता मान्सुर अब्बासले गलत कामको आरोपमा अनुसन्धान भएमा स्वागत गर्नुभयो र मध्यमपन्थी इस्लामी दलको आरोपहरूसँग आफ्नो ‘कुनै सम्बन्ध नभएको’ बताए ।
अरब दलहरूसँग विपक्षी गुटलाई विजयी बनाउन पर्याप्त मत छ, तर आइजेन्कोट नेतन्याहुका निरन्तर आक्रमणपछि पछि हटेको देखिन्छ । नेतन्याहुले आफ्नो दक्षिणपन्थी यहूदी आधारलाई विपक्षीलाई मत दिएमा अरबहरू सत्तामा आउने चेतावनी दिएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश नोआम सोहलबर्ग जो रूढिवादी धारका अधिकारी हुनुहुन्छ र केन्द्रीय निर्वाचन आयोगका प्रमुखले पनि राम दलले कतारबाट पैसा पाएको आरोपमा शिन बेट सुरक्षा सेवालाई अनुसन्धान गर्न अनुरोध गरे । कतार ऊर्जा सम्पन्न खाडीको प्रभावशाली देश हो जसको हमाससँग निकट सम्बन्ध छ । नेतन्याहुको लिकुड दलले भनेको छ, “रामगेट काण्ड राजनीतिक भूकम्प हो । इजरायलको निर्वाचन ‘चोरी’ भएको छ।”
सरकारी अधिकारीहरूले आरोपहरूलाई समर्थन गर्ने कुनै आधार भने दिन सकेका छैनन् । वामपन्थी उम्मेदवार यैर गोलानले नेतन्याहुलाई बहुमत नपाएपछि विवाद खडा गर्न खोजेको आरोप लगाएका छन् ।
नेतन्याहु आफैँ कतारसँग सम्बन्धित आरोपको छायामा लामो समयदेखि रहेका छन् । गत वर्ष उनका दुई सहयोगीलाई खाडी देशबाट भुक्तानी लिएको आरोपमा गिरफ्तार गरिएको थियो । इजरायलका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेतन्याहुले वर्षौँसम्म हमास–शासित गाजाका स्थिरता कायम राख्ने आशामा कतारको कोषलाई मौन समर्थन दिएका थिए । सन् २०२३ अक्टोबर ७ मा जब हमासले नेतन्याहुको शासनकालमा इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा घातक एकल आक्रमण गर्यो, तब त्यो अवधारणा ध्वस्त भयो । लगभग ९३ प्रतिशत मत गणना भइसक्दा दबाबमा रहेका प्रभावशाली नेता नेतन्याहुको गुट ५३ सिटमा र आइजेन्कोटको नेतृत्वमा रहेको विपक्षी शक्ति ४८ सिटमा सिमित छन् । दुवै समूहले सरकार गठनका लागि आवश्यक ६१ सीट भन्दा निकै कम सीट जितेका छन् ।