हाइवे अर्थात् राजमार्ग भन्नासाथ सामान्यतया एक जिल्लालाई अर्को जिल्ला, एक राज्यलाई अर्को राज्य वा एक सहरलाई अर्को सहरसँग जोड्ने प्रमुख सडक भन्ने बुझिन्छ । राजमार्गका आफ्नै मापदण्ड र नियम हुन्छन् । विश्वका प्रमुख सहरहरूमा राजमार्गलाई स्थानीय सडकभन्दा फरक मापदण्ड र व्यवस्थापनका आधारमा निर्माण तथा सञ्चालन गरिएको हुन्छ ।
नेपालमा पनि त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग र पृथ्वी राजमार्गदेखि त्यसपछि बनेका विभिन्न राजमार्गलाई हेर्ने हो भने हरेक राजमार्गमा सहरहरू बन्दै गएको, बस्ती बढ्दै गएको र व्यवसाय फैलिँदै गएको देखिन्छ । यस्ता राजमार्गहरूले जनताको जीवनस्तर सुधार गर्न र उत्पादित वस्तुको बजारसम्म पहुँच सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर अर्कोतिर, राजमार्गको असुरक्षाका कारण हरेक वर्ष हजारौँ मानिसले अकालमै ज्यान गुमाउनुपरेको अवस्था पनि देखिन्छ । धेरै ठाउँका राजमार्गमा स्थानीय सडकमा हुनुपर्ने जति पनि सुरक्षा व्यवस्था नभएको देखिन्छ । त्यसैले राजमार्गको डिजाइन, सुरक्षा, गति नियन्त्रण र व्यवस्थापनको वास्तविक अवस्था हेर्नुपर्ने आवश्यकता प्रत्येक राजमार्गमा देखिन्छ ।
वास्तवमा राजमार्गमा सवारीसाधनको गति निर्धारणदेखि पैदलयात्रीले सडक पार गर्ने सुरक्षित व्यवस्थासम्मका विषयलाई विशेष महत्त्व दिइन्छ । सडकको प्रकृति र आवश्यकताअनुसार दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनका लागि उपयुक्त लेन, सडकबत्ती, सहायक मार्ग, स्पष्ट संकेत तथा ट्राफिक चिह्नको व्यवस्था गरिन्छ । त्यसैगरी, यात्रुको सुविधाका लागि शौचालय, खाजाघर, पेट्रोल पम्प तथा निश्चित दूरीमा विश्रामस्थलको व्यवस्था हुनु पनि उत्तिकै आवश्यक हुन्छ । तर नेपालका राजमार्गहरूमा अत्यन्तै सुरक्षित, व्यवस्थित र आधुनिक राजमार्गको वास्तविक झल्को दिने अवस्था पर्याप्त रूपमा देखिँदैन ।
नेपालका राजमार्गहरूको अवस्था हेर्दा यी आधारभूत आवश्यकता र मापदण्डको कार्यान्वयन निकै कमजोर देखिन्छ । कतिपय ठाउँमा राजमार्ग र स्थानीय सडकबीचको भिन्नता छुट्याउनसमेत कठिन हुन्छ । राजमार्गमै जथाभाबी रूपमा जोडिएका स्थानीय सडक, अव्यवस्थित बजार, सडक किनारमा हुने अतिक्रमण, पर्याप्त संकेतको अभाव, जोखिमपूर्ण मोड तथा पैदलयात्रीका लागि सुरक्षित बाटो काट्ने व्यवस्थाको कमी देखिन्छ । कतिपय सडकमा सवारीसाधनको चापअनुसार लेन, बत्ती र अन्य सुरक्षा पूर्वाधारसमेत पर्याप्त छैनन् ।
यी समस्यालाई हेर्दा नेपालका राजमार्गहरू साँच्चिकै राजमार्ग हुन् कि आवश्यक नियमकानुन बनाउनुपर्ने ठाउँमा बनाउन नसकिएको हो, अथवा बनाउन सक्ने भएर पनि बेवास्ता गरिएको हो भन्ने प्रश्नचिह्न खडा भएको छ । के हामीले राजमार्ग हुन आवश्यक मापदण्डसहित सडक निर्माण गरेका हौँ? सडकलाई कालोपत्रे गरेर वा दुई ठाउँ जोडेर मात्र राजमार्गको जिम्मेवारी पूरा हुँदैन । राजमार्गको वास्तविक पहिचान त्यसको चौडाइ वा लम्बाइमा मात्र होइन, यात्राको सुरक्षा, सहजता, गति व्यवस्थापन, अनुशासन र यात्रुलाई उपलब्ध गराइने सुविधामा पनि निहित हुन्छ ।
नेपालमा सडक निर्माणमा ठूलो लगानी भइरहेको छ । तर निर्माणसँगै सडकको वर्गीकरण, मापदण्डको कार्यान्वयन, नियमित मर्मतसम्भार, ट्राफिक व्यवस्थापन र यात्रुमैत्री सुविधामा समान प्राथमिकता नदिएसम्म राजमार्गको अवधारणा पूर्ण हुन सक्दैन । अब प्रश्न सडक कति किलोमिटर बन्यो भन्ने मात्र होइन, त्यो सडकले राजमार्गको जिम्मेवारी कति पूरा गरिरहेको छ भन्ने पनि हो ।
राजमार्ग निर्माण गर्नेहरूले नेपालजस्तो भौगोलिक अवस्था भएको ठाउँमा अत्यन्तै मेहनतका साथ यी सडकहरू निर्माण गरेका थिए । यी राजमार्गहरू नेपालका गहना हुन्, विकासका आधार हुन् । आजको दिनमा तिनलाई राजमार्गको मापदण्डअनुसार निर्माण, व्यवस्थापन र सञ्चालन गर्नु नै राज्यको वास्तविक जिम्मेवारी हो ।
नेपालका राजमार्गमा देखिएका प्रमुख समस्या
आजका राजमार्गले यात्रुको सुरक्षा, गति व्यवस्थापन र सुविधा सुनिश्चित गरेका छन् कि छैनन् भन्ने प्रश्नको उत्तर खोज्दा निम्न समस्याहरूलाई गम्भीरतापूर्वक लिन आवश्यक देखिन्छ ।
१. अव्यवस्थित र खाल्डाखुल्डी भएका सडक
राजमार्गका विभिन्न खण्डमा खाल्डाखुल्डी, भत्किएको कालोपत्रे र असमान सतहका कारण यात्रा जोखिमपूर्ण हुने गरेको छ । सडकको अवस्था राम्रो भएको ठाउँमा समेत सवारीसाधनलाई निर्धारित गतिमा सहज रूपमा चलाउन नपाउँदा चालक र यात्रुले सास्ती बेहोर्नुपरेको छ । सडकको गुणस्तर र नियमित मर्मतसम्भारमा ध्यान दिँदा यात्रा सुरक्षित र समयमै गन्तव्यमा पुग्न सहज हुन्छ ।
२. दुईपाँग्रे सवारीसाधनको हेलचेक्र्याइँपूर्ण सञ्चालन
राजमार्गमा दुईपाङ्ग्रे सवारीसाधनको अनियन्त्रित गति, लापरबाहीपूर्ण चलाइ र ट्राफिक नियमको उल्लङ्घनले दुर्घटनाको जोखिम बढाएको छ । विशेषगरी रातको समयमा पर्याप्त सडकबत्ती नहुनु, सवारीसाधनको दृश्यता कम हुनु र नियमविपरीत चलाउने प्रवृत्तिले जोखिम थप बढाउँछ । त्यसैले सवारी नियमको प्रभावकारी पालना र नियमित निगरानी आवश्यक छ ।
३. जीवित चौपाया तथा पशुपन्छीको अव्यवस्थित ओसारपसार
राजमार्गहरूमा गाईवस्तु, चौपाया, कुखुरा र अन्य पशुपन्छीलाई जथाभाबी हिँडाउने गल्तीले ट्राफिक जाम र दुर्घटना बढाउँछ । सडकमा पशु छोड्ने अभ्यास वा सुरक्षित व्यवस्थापनको अभावले जोखिम थपाउँछ । यसलाई नियन्त्रण गर्न र पशु ओसारपसारका लागि उचित स्थान र सुरक्षित विधि अपनाउनु जरुरी छ । यसले सडकलाई सुरक्षित र सहज बनाउने मात्रै होइन, सबैको मनोबल पनि बढाउँछ ।
४. अव्यवस्थित सडक किनार र पैदलयात्रीको असुरक्षा
कुनै–कुनै राजमार्गको किनारामा बालबालिका खेल्दै, मानिसहरू हिँड्दै र बस्तीका गतिविधिहरू सवारीसाधनसम्म फैलिएका हुन्छन् । त्यस्ता ठाउँमा राम्रो र सफा फुटपाथ, सुरक्षित क्रसिङ र आवश्यक सुरक्षा संरचनाको अभावले पैदल यात्रुहरूलाई जोखिममा पार्छ । यसलाई ध्यानमा राख्दै, बस्तीका बासिन्दालाई पनि सचेत गराउनु र आवश्यक संरचना निर्माण गर्नु जरुरी छ । सडक किनाराको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो ।
५. जथाभाबी ओभरटेक गर्ने प्रवृत्ति
सडक साँघुरो, खाल्डाखुल्डी र मोडहरू जोखिमपूर्ण हुँदा ओभरटेक गर्ने चलन निकै खतरनाक हुन्छ । आउँदै गरेका सवारीसाधनलाई बेवास्ता गर्दै अर्को सवारीलाई पार गर्न खोज्दा ठूलो दुर्घटना हुन सक्छ । यसले चालक र यात्रुहरूलाई मात्र होइन, अरू निर्दोष मानिसहरूलाई पनि ज्यानको खतरा पु¥याउँछ । त्यसैले, ओभरटेक गर्न मिल्ने र नमिल्ने ठाउँ स्पष्टसँग चिह्नित गर्नुपर्छ र नियम भंग गर्नेहरूलाई कडा कारबाही गर्नु आवश्यक छ ।
६. सडक मर्मतसम्भारमा कमजोरी
सडक निर्माणपछि नियमित जाँच, मर्मत र सुधारको अभावले समस्या झन् जटिल बन्छ । खाल्डाखुल्डी भर्ने, भत्किएका भागहरू ठिक गर्ने, नाली सफा गर्ने र पहिरो हटाउने काम समयमै नगर्दा सडकको अवस्था कमजोर हुन्छ । यसमा ध्यान दिई बजेट र जनशक्तिको व्यवस्थापन गर्नु आवश्यक छ, ताकि सडक लामो समय टिकाउ रहोस् र यात्रा सुरक्षित होस् ।
७. सडक चिहृन र संकेतको अभाव
गति सीमा, मोड, उकालो–ओरालो, विद्यालय, बस्ती, पुल र सडकको अवस्थाको स्पष्ट जानकारी दिने चिह्न र संकेतको अभावले चालकलाई निर्णय लिन गाह्रो बनाउँछ । कतिपय ठाउँमा यी संकेतहरू पुराना, अस्पष्ट वा नहुँदा दुर्घटनाको खतरा बढ्छ । त्यसैले, यी सबैलाई अन्तर्राष्ट्रिय मानकअनुसार स्पष्ट, देखिने र नियमित मर्मत गरिएको अवस्थामा राख्नुपर्छ ।
८. हरियाली र सौन्दर्यीकरणको अभाव
सडकलाई अझ सुरक्षित, आकर्षक र वातावरणमैत्री बनाउने प्रयास आवश्यक छ । वृक्षारोपण, हरियाली संरक्षण, सडक किनाराको सफाइ र योजनाबद्ध सौन्दर्यीकरणले यात्रालाई रमाइलो र मनमोहक बनाउँछ । यस क्रममा, सडकको दृश्यता, मोडको दूरी, यातायातको सुरक्षा र वातावरणीय अवस्थालाई ध्यानमा राख्नुपर्छ । व्यवस्थित हरियालीले यात्रा रमाइलो बनाउने मात्र होइन, पर्यटक आकर्षित गर्न पनि मद्दत पुर्याउँछ ।
९. आपत्कालीन उद्धार तथा सहायता सेवाको अभाव
दुर्घटना हुँदा, सवारी बिग्रिँदा, पहिरो जाँदा वा अन्य आपतकालीन अवस्थाहरूमा छिटो र प्रभावकारी सहायता आवश्यक हुन्छ । कतिपय ठाउँमा उद्धार टोली, एम्बुलेन्स, प्राथमिक उपचार र उपकरणको अभावले घाइतेको अवस्था जटिल हुन सक्छ । त्यसैले, आपतकालीन केन्द्र, सम्पर्क नम्बर र उद्धार प्रणालीलाई व्यवस्थित गर्नुपर्छ, जसले संकटको समयमा सहायता पुर्याउन मद्दत गर्दछ ।
१०. मोबाइल ट्राफिक प्रहरीको कमी
राजमार्गका सबै खण्डमा एकै ठाउँबाट ट्राफिक व्यवस्थापन गर्न सम्भव हुँदैन । त्यसैले नियमित गस्ती गर्ने, जोखिमपूर्ण स्थानमा तत्काल पुग्ने र नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिन सक्ने मोबाइल ट्राफिक प्रहरी आवश्यक हुन्छ । विशेषगरी दुर्घटनाप्रवण क्षेत्र, बढी सवारी चाप हुने स्थान र चाडपर्वका समयमा प्रभावकारी गस्तीले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउँछ ।
११. सीसीटीभी क्यामेरा तथा निगरानी प्रणालीको अभाव
राजमार्गका संवेदनशील तथा दुर्घटनाप्रवण क्षेत्रमा सीसीटीभी क्यामेरा र अन्य उपयुक्त निगरानी प्रणालीको व्यवस्था गर्दा ट्राफिक नियम उल्लङ्घन पहिचान गर्न, दुर्घटनाको विवरण संकलन गर्न र आपत्कालीन अवस्थाको जानकारी लिन सहज हुन्छ । यस्तो प्रविधि आवश्यक जनशक्ति र प्रभावकारी प्रतिक्रिया प्रणालीसँग जोडिएमा सडक सुरक्षा व्यवस्थापन अझ प्रभावकारी बन्न सक्छ ।
१२. सडकबत्तीको अपर्याप्त व्यवस्था
राजमार्गका बस्ती क्षेत्र, चोक, पुल, घुम्ती, पैदलयात्रीले बाटो काट्ने स्थान तथा दुर्घटनाको जोखिम बढी भएका खण्डमा पर्याप्त सडकबत्ती आवश्यक हुन्छ । अँध्यारोका कारण चालकले सडकको अवस्था, पैदलयात्री र अन्य अवरोध समयमै देख्न नसक्दा दुर्घटनाको जोखिम बढ्छ । आवश्यकताअनुसार सडकबत्ती जडान र नियमित मर्मत गर्नुपर्छ ।
१३. विश्रामस्थलको अभाव
लामो दूरीको यात्रा गर्दा चालक र यात्रुलाई आराम गर्न, शौचालय प्रयोग गर्न, खाना खान र आवश्यक सेवा लिन उपयुक्त विश्रामस्थल चाहिन्छ । नेपालका धेरै राजमार्गमा व्यवस्थित विश्रामस्थलको अभाव हुँदा चालकले असुरक्षित स्थानमा सवारी रोक्नुपर्ने अवस्था आउन सक्छ । निश्चित दूरी र यात्रुको आवश्यकताअनुसार सुरक्षित पार्किङ, शौचालय, खानेपानी, खाजाघर तथा अन्य आधारभूत सुविधासहितका विश्रामस्थल निर्माण गर्नुपर्छ ।
१४. स्थानीय तह, सडक विभाग र सम्बन्धित निकायबीच समन्वयको कमी
राजमार्गको व्यवस्थापनमा सडक विभाग, स्थानीय तह, ट्राफिक प्रहरी, सुरक्षा निकाय र अन्य संस्था सबैको महत्त्वपूर्ण भूमिका हुन्छ । तर कहिलेकाहीँ सडकको छेउछाउमा बनेका संरचना, स्थानीय सडक र मुख्य राजमार्गको जडान, ढल निकास, बजार व्यवस्थापन र अतिक्रमण नियन्त्रणजस्ता कुरामा समन्वय नहुँदा समस्या झन् जटिल बन्न सक्छ । यस समस्याको समाधानका लागि जिम्मेवारी स्पष्ट पार्ने, नियमित रूपमा संयुक्त अनुगमन गर्ने र समन्वयको प्रक्रिया चलाउने कुरा जरुरी छ ।
१५. राजमार्गसम्बन्धी सूचनाको अभाव
सवारीसाधन चलाउने यात्रुले सडकको वर्तमान स्थिति, दूरी, गन्तव्यसम्मको अनुमानित समय, वैकल्पिक मार्ग, पहिरो वा अन्य अवरोधको बारेमा समयमै जानकारी पाउनु आवश्यक हुन्छ । तर सूचना प्रणाली कमजोर र अद्यावधिक नहुने भएकाले यात्रुहरू अनिश्चयमा पर्छन् र कहिलेकाहीँ अनावश्यक समय खर्चनुपर्ने हुन्छ । त्यसैले कमजोर अवस्थामा रहेको सूचना प्रणालीलाई सुधारेर विभिन्न माध्यमबाट अद्यावधिक जानकारी समयमै उपलब्ध गराउनु आवश्यक छ ।
१६. फोहोर व्यवस्थापन र डस्टबिनको अभाव
सडक किनारामा फोहोर फाल्ने प्रवृत्ति र प्लास्टिक तथा खानेकुरा बेच्ने ठाउँहरूमा जथाभाबी फोहोर फाल्ने बानीले वातावरण प्रदूषित हुनुका साथै सडकको सौन्दर्य बिग्रन्छ । उचित ठाउँमा डस्टबिन राख्ने, फोहोर संकलन केन्द्रहरू बनाउने र नियमित सफाइ गर्ने व्यवस्था गर्नुपर्छ । यसले यात्रु, व्यवसायी र स्थानीय बासिन्दालाई पनि सडक सफा राख्ने जिम्मेवारीबोध गराउन मद्दत पुर्याउँछ ।
१७. आधुनिक प्रविधि र उपकरणको प्रयोगमा कमजोरी
विज्ञान र प्रविधिको विकाससँगै सडक निर्माण, मर्मतसम्भार र व्यवस्थापनमा आधुनिक उपकरणको प्रयोग आवश्यक छ । तर कतिपय ठाउँमा घाँस काट्ने, माटो हटाउने वा सडक किनारा सफा गर्नेजस्ता सामान्य काम अझै परम्परागत औजारबाट गरिन्छ । आधुनिक मेसिन, सफाइ उपकरण र नाली सफा गर्ने साधनजस्ता प्रविधि प्रयोग गर्नु आवश्यक छ । यसले कामलाई छिटो र गुणस्तरीय बनाउँछ । तर धेरै ठाउँमा यसमा ध्यान नदिइएकाले सरकारी व्यवस्थापनको क्षमतामाथि प्रश्न उठ्ने गरेको छ ।
समाधानतर्फ राज्यको ध्यान कहिले जाने ?
यी समस्यालगायत नेपालका राजमार्गमा अन्य धेरै चुनौती पनि छन् । कतिपय राजमार्गमा स्थानीय सडक र राजमार्गको प्रयोग एउटै स्थानमा मिसिँदा स्थानीय बासिन्दा र लामो दूरीका यात्रु दुवैले समस्या भोग्नुपरेको छ । स्थानीय बस्तीमा प्रवेश गर्ने सवारीसाधन, पैदलयात्री, व्यापारिक गतिविधि र लामो दूरीका सवारीसाधनबीच उचित व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्छ । यसले सडकलाई अव्यवस्थित बनाउनुका साथै यात्रामा अनावश्यक समय खर्च गराउँछ ।
नेपालका प्राकृतिक दृश्य, पहाड, नदी, वनजङ्गल र सांस्कृतिक सम्पदाको आनन्द लिँदै यात्रा गर्नुपर्नेमा सडकको अव्यवस्था, दुर्घटनाको डर र लामो समय लाग्ने समस्याले यात्रा बोझिलो र पट्यारलाग्दो बन्ने गरेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकको यात्रा अनुभवमा समेत असर पार्न सक्छ ।
अब नयाँ सरकारले सडक निर्माणलाई मात्र विकासको उपलब्धि मान्ने परम्पराबाट माथि उठेर सडक सुरक्षा, नियमित मर्मतसम्भार, ट्राफिक अनुशासन, आधुनिक प्रविधि र यात्रुमैत्री सुविधालाई प्राथमिकतामा राख्नुपर्छ । तत्काल गर्न सकिने काम तत्कालै सुरु गर्नुपर्छ । सडकका खाल्डाखुल्डी पुर्ने, आवश्यक चिह्न र संकेत राख्ने, जोखिमपूर्ण स्थान पहिचान गर्ने, सडक किनार व्यवस्थित गर्ने, सरसफाइ गर्ने र दुर्घटनाप्रवण क्षेत्रमा निगरानी बढाउनेजस्ता कामका लागि वर्षौँ कुर्नुपर्ने अवस्था हुनु हुँदैन ।
त्यसैगरी, दीर्घकालीन योजनाअन्तर्गत सुरक्षित पैदलमार्ग, व्यवस्थित सहायक सडक, उपयुक्त विश्रामस्थल, आपत्कालीन उद्धार केन्द्र, आधुनिक निगरानी प्रणाली र राजमार्ग व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्छ । सडक विभाग, स्थानीय तह, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी तथा प्रभावकारी समन्वय कायम गर्नुपर्छ ।
नेपालका राजमार्गहरू केवल एक ठाउँबाट अर्को ठाउँ पुग्ने माध्यम मात्र होइनन् । यी देशको आर्थिक विकास, व्यापार, पर्यटन र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत पूर्वाधार हुन् । त्यसैले राजमार्ग निर्माणमा गरिएको लगानीको वास्तविक प्रतिफल नागरिकले सुरक्षित, सहज, व्यवस्थित र भरपर्दो यात्राका रूपमा अनुभव गर्न पाउनुपर्छ ।
राजमार्गलाई साँच्चिकै राजमार्ग बनाउने जिम्मेवारी सरकार, सम्बन्धित निकाय, चालक, व्यवसायी र नागरिक सबैको हो । तर नेतृत्व र प्रभावकारी व्यवस्थापनको मुख्य जिम्मेवारी राज्यकै हुन्छ । सरकारले समयमै सुधारका काम अघि बढाउन सके यात्रुले कम झन्झटमा, सुरक्षित रूपमा र निर्धारित समयमा गन्तव्यमा पुग्न सक्नेछन् । यात्रालाई सहज र रमाइलो बनाउन सकिएमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्नेछ ।
अब नेपालमा सडक कति किलोमिटर निर्माण भयो भन्ने प्रश्नसँगै ती सडकमा यात्रा कति सुरक्षित, सहज र सुविधाजनक छ भन्ने प्रश्नलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ । राजमार्गको वास्तविक सफलता त्यसको लम्बाइमा मात्र होइन, त्यसमा यात्रा गर्ने नागरिकको सुरक्षा, सुविधा र सन्तुष्टिमा निहित हुन्छ ।