काठमाडौं, कामना सेवा विकास बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमास मा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ९९ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष एक दशमलव ४३ प्रतिशत वृद्धि भएर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको सञ्चालन नाफा करिब १९ प्रतिशत वृद्धि भएर ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन नाफा २८ करोड ४६ लाख २८ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकले ११ करोड २ लाख ३६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ भने कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको वार्षिकीकृत लाभांश क्षमता १५ दशमलव ७६ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी चार अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुई अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित छ । बैंकको कर्जा लगानी पनि विस्तार भएको छ । पहिलो त्रैमासमा कर्जा लगानी तीन दशमलव ९५ प्रतिशत बढेर ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कर्जा लगानी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ थियो ।
यस्तै, निक्षेप संकलन दुई दशमलव ६० प्रतिशत वृद्धि भएर ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको खराब कर्जा अनुपात (एनपीएल) मा पनि सुधार देखिएको छ । गत वर्षको सोही अवधिमा चार दशमलव ४१ प्रतिशत रहेको एनपीएल घटेर तीन दशमलव ९३ प्रतिशतमा झरेको छ । वित्तीय सूचकतर्फ बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ६१ रुपैयाँ ८४ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
कामना सेवा विकास बैंकले देशभर रक्तदान कार्यक्रम आयोजना गर्ने
कामना सेवा विकास बैंकले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकले विभिन्न क्षेत्रीय कार्यालय तथा शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । बैंकका अनुसार कोशी प्रदेशको विराटनगरमा कात्तिक १५ गते रक्तदान कार्यक्रम हुनेछ ।

त्यस्तै, काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा कात्तिक १८ गते कार्यक्रम आयोजना गरिनेछ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा देखिएको रगत अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ । बैंकले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
यसैगरी, बैंकले २० औँ वार्षिकोत्सवकै अवसरमा छैटौँ अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । कात्तिक १४ र १५ गते काठमाडौंको धन्वन्तरी फुटसल कोर्टमा हुने प्रतियोगितामा आर्थिक पत्रकारहरूको संगठन सेजन, नाफिज र इमानसहित ३० वटा बैंक तथा वित्तीय संस्थाका टोली सहभागी हुनेछन् ।