काठमाडौं, प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरू र सांसदसमेत बिचौलियाको सम्पर्कमा रहेको स्वीकारोक्तिपछि न्यायालय नै विवादमा परेको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले आफूसहित केही न्यायाधीशहरूको बिचौलिया इनम सापकोटासँग कुपण्डोलको हिमालयन होटलमा भेटघाट र खानपिन भएको बिहीबार सर्वोच्चमै पत्रकारसँगको भेटमा स्वीकार गरेपछि नेपालको न्यायालयमा भित्रभित्रै नसोचेका खेलहरू हुनेरहेछन् भन्ने सार्वजनिक भएको छ ।
न्यायाधीश फुयालले बिचौलिया सापकोटासँग आफू एक्लैले नभेटेको र त्यहाँ अन्य न्यायाधीश पनि रहेको बताएपछि थप छानबिन हुनुपर्ने देखिएको छ । हाल बिचौलिया सापकोटा प्रहरी हिरासतमा छन् । आफूलाई महाअभियोग लगाएर हटाउने तयारी गरेको हल्लापछि न्यायाधीश फुयाल बिचौलिया सापकोटाको सम्पर्कमा गएको समेत स्वीकार गरे । तर, केही मुद्दामा दबाब दिन थालेपछि आफैँले प्रधानमन्त्री कार्यालयसम्म विवरण पठाएर सापकोटालाई पक्राउ गर्न सहयोग गरेको समेत दाबी गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेर रिहा भएपछि झापाका ती सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जाने क्रममा पक्राउ परेका थिए । राणा र सापकोटाको मोबाइल अनुसन्धानको क्रममा अन्य न्यायाधीश, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारी र सांसद समेत बिचौलिया सापकोटाको सम्पर्कमा रहेको देखिएको समाचार विभिन्न सञ्चार माध्यमबाट विहीबार बिहानै सार्वजनिक भएपछि दिउँसो सर्वोच्चमै पत्रकारसँग न्यायाधीश फुयालले कुरा गर्दै आफूहरूले भेटेको स्वीकार गरेका हुन् ।
यद्यपि प्रधानन्यायाधीश मनोजकुमार शर्माले भने आफूले सापकोटालाई भेटेको वा आफ्नो खातामा पैसा हालेको विषय भने अस्वीकार गरेका छन् । त्यस्तै सर्वोच्चकै अर्का न्यायाधीश श्रीकान्त पौडेलले पनि आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । त्यस्तै, रास्वपाका ओखलढुंगाबाट विजयी सांसद विश्वराज पोखरेलले पनि विज्ञप्ति जारी गरी सापकोटासँगको सम्पर्कको बारेमा अस्वीकार गरेका छन् । तर, पोखरेल भने विगतमा आफूले बोलेको भिडियो सार्वजनिक हुँदा पनि अस्वीकार गर्दै विज्ञप्ति जारी गर्ने सांसद भएको कारण उनको बिचौलिया सापकोटासँगको भेट÷लेनदेनको अस्वीकारलाई कसैले पनि खासै महत्व दिएका छैनन् ।
प्रधानन्यायाधीश शर्माले जारी गरेको विज्ञप्तिमा आफू सापकोटासँग सम्पर्क भएको भनिएको मितिमा आफू प्रधानन्यायाधीश नभएको जिकिर गरेका छन् । अहिले प्रधानन्यायाधीश भएको वा न्यायाधीश मात्र भएको बेलामा भेटेको कुरा नभई बिचौलियासँग भेट गरेको र लेनदेन भएको वा नभएको कुरा उठेको हो । यही बेला न्यायाधीश फुयालले आफूले मात्र नभई अरु न्यायाधीशले पनि बिचौलिया सापकोटासँग भेटेको बताएपछि न्यायाधीशहरू विवादमा परेका हुन् ।
नेपालको कुनै सार्वजनिक वा अदालतसँग सरोकार रहेको पदमा नभएको व्यक्तिले अदालत सुधारको बारेमा कुरा गर्ने भनेपछि भेटेको भनेर न्यायाधीश फुयालले स्वीकार गर्नुले न्यायालयमाथि नै प्रश्नहरू उठाएको छ । पारिवारिक व्यक्तिको माध्यमबाट भेट भएका बेला सापकोटाले आफूलाई अमेरिकी दूतावासको मान्छे र प्रधानमन्त्री वालेन्द्र शाहको मान्छे भनि चिनाएको दाबी पत्रकारसँग न्यायाधीश फुयालले बिहीबार दाबी गरेका थिए ।
सापकोटा बिचौलिया दीपक भट्टलगायतका व्यक्तिसँग निकट रहेको र उनीहरूको योजनाअनुसार काम गर्ने व्यक्ति भएको बताइएको छ । यद्यपि उनको बारेमा नेपाल प्रहरीले अनुसन्धान जारी राखेको छ । यहीबेला बिचौलिया सापकोटालाई न्यायाधीशहरूले होटलमा भेटघाट गरेको स्वीकार गर्नुले न्यायालयमासमेत सेटिङ हुने गरेको देखिएको छ । प्रधानन्यायाधीश शर्माको सापकोटासँग आर्थिक कारोबार हुने गरेको विवरण सार्वजनिक भए पनि न्यायाधीश फुयालले भने उनीसँग आर्थिक कारोबारको बारेमा कुरा नभएको र न्यायालय सुधार, आफूमाथि लाग्न लागेको महाअभियोगको बारेमा कुरा भएको बताए । महाअभियोग रोक्न सक्ने हैसियतका सापाकोटा हुन् कि होइनन् भन्ने बारेमा नबुझी न्यायाधीशहरूले भेट्नुले रहस्यमय कुरा भएको देखाउँछ ।
रोहित गुप्ताको बन्दीप्रत्यक्षीकरण र विशेष अदालतले थुनामा पठाउने आदेशविरुद्ध दर्ता भएको निवेदनको मुद्दा सुनुवाइमा आफ्नो बिचौलिया सापकोटासँग कुरा नमिलेको जिकिर पत्रकारसँग न्यायाधीश फुयालले गरेका छन् । फुयाल र पौडेलको इजलासले गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । न्यायाधीश फुयालका अनुसार त्यो मुद्दामा गुप्तालाई थुनामा राख्नुपर्ने पक्षमा सापकोटा थिए । यही मुद्दामा यसअघि व्यवसायी शेखर गोल्छासहित धरौटीमा छुटेका थिए ।
सापकोटासँग नेपाल प्रहरीका उच्च अधिकारीहरूसमेत सम्पर्कमा रहेको प्रहरीले नै गरिरहेको अनुसन्धानले देखाएको स्रोतको दाबी छ । यद्यपि सापकोटामाथिको अनुसन्धान सकिएको छैन । प्रधानन्यायाधीश र न्यायाधीशहरूको बिचौलियासँग सम्पर्क भएको कुरा उठेपछि शुक्रबार सर्वोच्च अदालतको फुलकोर्ट बस्दै छ ।