काठमाडौँ, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजो बिहीबारदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर साधारणतया बादल लाग्नुका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा तराई, मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुने सम्भावना छ ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना छ । अधिकांश स्थानमा शुक्रबार दिउँसो बादल लाग्ने तथा बागमती, गण्डकी कोशी, मधेस र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि छ ।
त्यसैगरी, शुक्रबार राति पनि देशका अधिकांश स्थानमा बादल लाग्नुका साथै मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान छ ।
महाशाखाले शुक्रबार र शनिवार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य शुक्रबार र शनिवार नगर्न अनुरोध गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । मौसम अनुकूल नहुँदासम्म त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।