जेन–जी आन्दोलनको वर्षदिन पुगेको छ । यो आन्दोलनबाट जो सत्तामा पुगे तिनको भने छ महिना । यो बेलासम्मकै कुनै राजनीतिक परिवर्तनका लागि जे–जस्ता आन्दोलनहरू भए तीमध्ये यो आन्दोलन इतिहासकै सबभन्दा बढी धनजनको क्षति भएको आन्दोलन हो । विगतका आन्दोलनहरू व्यवस्था नै परिवर्तन गर्न सक्षम भएका थिए तर यसले व्यवस्था होइन सत्ता चाहिँ फेरियो । यो आन्दोलनको माग पनि व्यवस्था परिवर्तनका लागि थिएन । तर सत्ता चाहिँ कल्पनातीत रूपले नै फेरियो ।
यो आन्दोलन हुँदा सत्तामा त्यस्ता व्यत्तिहरू थिए जो बितेको तीन दशकभन्दा बढी समय करिब–करिब निरन्तर सत्तामा नै रहँदै आएका थिए । सत्तामा नरहेका बेलामा पनि उनीहरू उनका दलका उच्चपदमा नै रहे । जसले सत्तामा कसलाई लाने र कसलाई तान्ने भन्ने हैसियतमा नै रहे । अझ यो आन्दोलन चलिरहेको बेला त सत्ता त्यस्तो अवस्थामा थियो जो करिब दुईतिहाइकै हैसियत राख्थ्यो । यस्तो सत्ता जेनजी आन्दोलनको दुईदिनमा नै ढल्यो । ढलाइ पनि यस्तो र≈यो, जो अब फेरि उठ्न करिब–करिब सम्भव नहोला भन्ने ठाउँमा रहेको अवस्था छ । त्यसकारण यो आन्दोलन संसारभरिकै नमुना मानिएको हुनुपर्छ । तर यो आन्दोलनबाट शक्ति प्राप्त गरेकाहरू सत्तामा पुगेर आफ्नो जस्तो चरित्र देखाए वा देखाइरहेका छन् । त्यो भने पुरानाहरूको हुबहु अनुकरण भएको जस्तो देखियोे ।
यस्तो निष्कर्ष यो आन्दोलनका अगुवाहरूबाट नै आइरहेको छ । यतिबेला जसले सत्ता चलाइरहेका छन् । तीसंग आन्दोलनकारी अझ भन्ने हो भने आन्दोलनका क्रममा मृत्युवरण गरेका परिवारका सदस्य र घाइते भएर अझै उपचारत सबैका एउटै स्वर रहेको पाइन्छ । त्यो हो नयाँका नाममा यतिथोरै दिनमा नै पुरानै चरित्र हावी भयो । खासगरी आफूभन्दा बाहेक अरु कोही छैन र जो छन् तिनलाई कुनै ज्ञान छैन भन्ने अहमता नै आन्देलनको वर्षदिन पुगेको समयमा र त्यसले खडा गरेको नयाँ सत्ताको छ महिना पुग्दाको मूल्यांकन यसरी भइरहेको देखियो । प्रायः सबैको भनाइ यस्तै भेटिन्छ । त्यसमध्ये एक जना अगुवाले आफ्नो निष्कर्षमा आन्दोलनले उठाएका आधारभूत मागमध्ये एउटा पनि पूर्णरूपमा पूरा नभएको सुनाइएको पाइयो । उनका भनाइमा– भ्रष्टाचारविरुद्धको ब्यानर बोकेर, पारदर्शिता र जवाफदेहिताको माग गर्दै सुरु भएको आन्दोलनको आज एक वर्षमा विडम्बनायुक्त अवस्था देखियो । आन्दोलनले उठाएका आधारभूत मागमध्ये एउटा पनि पूर्ण रूपमा पूरा भएनन् । आन्दोलनकारीका अपेक्षाको निरन्तर अवमूल्यन हुँदै गयो । केही व्यक्तिलाई प्रहरीले जेलबाट सुरक्षित रूपमा बाहिर निकाल्यो, तर त्यही भदौ २४ मा प्रहरीकै गोलीबाट बन्दीहरूको मृत्यु भयो । कसैलाई सुरक्षा, कसैलाई गोली यो कस्तो न्याय हो ? यस्तो पक्षपातपूर्ण व्यवहार अहिले पनि कायम छ । अहिलेसम्म सत्ता परिवर्तन भएको कतै पनि अनुभूति गराउन सकेको छैन ।
अरु त अरु अहिलेको सत्तालाई निर्वाचनमार्फत नै यो ठाउँमा पुर्याउने महत्वपूर्ण अवसर निर्माण गर्न ठूलो भूमिका निर्वाह गर्ने निवर्तमान प्रधानमन्त्रीबाट पनि सरकारले त्यो आन्दोलनको मागलाई अवमूल्यन गरेको आरोप लगाइएको छ । यसलाई सामान्यरूपले लिन हुँदैन । किनभने यो ठाउँमा भ्रष्टाचार बढेको र सुशासनको खिल्ली उडाइएको भन्ने छ जो पुरानो सत्ताविरुद्ध परिवर्तनको लागि गम्भीर विषय हो । सरकारको यो छ महिनामा नै सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन थालेको भनी संकेत गर्नुपर्ने अवस्था निश्चय नै सामान्य होइन । उनको निष्कर्षमा जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ– सुशासन छैन भने संसद्को दुईतिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । यो भनेको नयाँका नाममा जसरी सत्ता सञ्चालन भइरहेको छ, त्यसले मुलुकलाई सही गन्तव्य देखाउन सकेन भन्ने नै हो । अझ जेनजी आन्दोलनका अगुवाहरूका कुरा त शासनको शैलीमा कुनै परिवर्तन नआएको भन्ने नै देखिन्छ । सरकारले नोट गरोस् ।