काठमाडौं, पब्जी मोबाइल नेपालले रसुवा बाढीबाट प्रभावित परिवार तथा समुदायलाई तत्काल आवश्यकता पर्ने राहत सामग्री उपलब्ध गराएको छ ।
संस्थाले खाद्यान्न, कम्बल, सौर्य आपत्कालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत प्रभावित परिवारका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको हो । उक्त राहत सामग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाले आवश्यक समन्वय गरी सामग्रीलाई नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायमा आवश्यकताका आधारमा क्रमशः वितरण गर्नेछ ।
बाढीका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने सडक तथा यातायात सेवा प्रभावित हुँदा केही क्षेत्रमा खाद्यान्न, सुरक्षित बसोबास, सरसफाइका सामग्री, बिजुलीलगायत आधारभूत आवश्यकताका सामग्रीको आवश्यकता बढेको छ । प्रभावित समुदायले सामना गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै तत्काल आवश्यक सामग्री उपलब्ध गराई जारी राहत प्रयासमा सहयोग पुर्याउने उद्देश्यले पब्जी मोबाइल नेपालले यो पहल गरेको हो ।
राहत सामग्री उपलब्ध गराउनुका साथै पब्जी मोबाइल नेपालसँग सहकार्यमा रहेका स्ट्रिमरहरूले सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक क्युआर कोडमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम समेत जम्मा गरेका छन् ।