काठमाडौं, नेपाल मेडिकल कलेज र विरगञ्जको नेशनल मेडिकल कलेजले रसुवा बाढीपिडित परिवारको लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन् ।
नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन् । सोमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टीमले अर्थमन्त्रालयमा पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेका छन् ।
रसुवामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुवै मेडिकल कलेजको तर्फबाट रकम जम्मा गरिएको नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताईन् । ‘यो विषम परिस्थितिमा हामी सबैले राज्यसँग हातेमालो गर्नुपर्छ, देशको जुनसुकै क्षेत्रमा जनता पिडामा छटपटाइरहेका छन् भने हामीले पनि आ–आफ्नो क्षेत्रबाट सहकार्य गर्नैपर्छ भन्ने हाम्रो सोच हो’, उनले भनिन्, ‘राज्यलाइ गर्नुपर्ने जुनसुकै प्रकारको सहयोग गर्न हामी तत्पर छौं ।’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सकेको योगदान गर्नुपर्ने बताए । नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्य र योगदानलाई निरन्तरता दिने उल्लेख गरेका छन् ।