काठमाडौं, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ । कोषको ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ ।
डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रसुवा–भोटेकोशी बाढीपछिको ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ संकलन भएको छ भने २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर जम्मा भएको छ । विपद्अघिको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको थियो । मंगलबार अर्थात् भदौ २३ गते एकै दिन कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ ।
राहत तथा उद्धार कार्यका लागि गत भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको थियो । मन्त्रालउले प्रभावित परिवारप्रति निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाप्रति आभार व्यक्त गरेको छ ।