जनकपुरधाम, मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिईएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ ।
वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका सो अवधिमा सबैभन्दा बढी पर्सामा १२० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ । त्यस्तै बारामा २१ हेक्टर, सप्तरीमा पाँच हेक्टर, धनुषामा तीन दशमलव २५ हेक्टर, सर्लाहीमा तीन हेक्टर, महोत्तरीमा दुई हेक्टर र सिरहामा शून्य दशमलव ३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको हो ।
वन क्षेत्रको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर ती क्षेत्रलाई पुनःवनको संरक्षण र व्यवस्थापनमा ल्याइएको सूचना अधिकारी चौधरीले बताए ।र उनका अनुसार वन अतिक्रमण नियन्त्रणसँगै चोरी–तस्करी नियन्त्रण र वन संरक्षणमा कार्यालयले सक्रियता बढाएको छ । वन संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि प्रदेशका विभिन्न जिल्लामा गत आवमा ३२ लाख ३९ हजार ८१० बिरुवा उत्पादन गरी २६१ दशमलव ७७ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ ।
जिल्लागत रूपमा सबैभन्दा बढी सर्लाहीमा आठ लाख ६३ हजार ९७०, सप्तरीमा पाँच लाख तीन हजार ६४०, सिरहामा चार लाख १५ हजार, धनुषामा चार लाख तीन हजार, महोत्तरीमा दुई लाख २० हजार, बारामा चार लाख ३४ हजार २०० र पर्सामा चार लाख बिरुवा उत्पादन गरिएको वन निर्देशनालयले जनाएको छ ।