काठमाडौं, रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एम.भी. दुगड समूहले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
सो समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि उक्त रकमको चेक सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकम एम.भी. दुगड समूहका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले संयुक्त रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । समूहका अनुसार उक्त रकममा समूह तथा यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समावेश छ । सो समूहले बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना तथा बेपत्ता नागरिकको शीघ्र उद्धारको कामना गरेको छ । घाइतेको उपचार तथा प्रभावित र विस्थापित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारले अघि बढाइरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ ।
एम.भी. दुगड समूहले विपद्को समयमा सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ । जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण प्राकृतिक विपद्को जोखिम बढिरहेको भन्दै दुगढ समुहले वातावरण संरक्षणका कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको जनाएको छ । समूहका अनुसार २०७८ सालदेखि सञ्चालन गरिएको वृक्षरोपण अभियानअन्तर्गत हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपिएको छ । समूहले आगामी दिनमा पनि वृक्षरोपण तथा वातावरण संरक्षणका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।