काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। अदालतको आदेशअनुसार धरौटी रकम बुझाएपछि पाँडे सोमबार नै रिहा भएका हुन्।
पाँडेसहितका व्यक्तिविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो। राज्यको स्वामित्वमा आइसकेको स्मार्ट सेलको सम्पत्ति बिक्री गरेको आरोपमा पाँडेमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो।सीआईबीले गरेको अनुसन्धानका आधारमा तयार पारिएको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले पाँडेसहितका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश दुलालको इजलासले पाँडेलाई तत्काल थुनामा नराखी ४० लाख रुपैयाँ धरौटीमा मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएको हो। धरौटी बुझाएसँगै उनी अदालतबाट रिहा भएका छन्। स्मार्ट सेलको सम्पत्ति बिक्रीसँग जोडिएको उक्त प्रकरणमा अन्य प्रतिवादीको हकमा पनि अदालतले छुट्टाछुट्टै आदेश गर्ने प्रक्रिया अघि बढाएको छ।