काठमाडौँ, नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुने भएको छ ।
नेपालमा विद्युत्, ऊर्जा, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रको प्रविधि, व्यापार र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रर्दशनी आयोजना हुन लागेको हो । मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुने जनाइएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको सहभागिता रहनेछ । विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रका नवीनतम उत्पादन, प्रविधि र सेवालाई एउटै व्यावसायिक मञ्चमा प्रस्तुत गर्ने लक्ष्य प्रदर्शनीको रहेको छ । नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षता प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासमा प्रदर्शनीले सहयोग पुर्याउने आयोजकको अपेक्षा छ । प्रदर्शनीमार्फत उत्पादक, आयातकर्ता, वितरक, व्यवसायी तथा सेवा प्रदायकबीच व्यावसायिक सहकार्य र नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसमेत राखिएको छ ।
प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार तथा सूचना प्रविधि, वैकल्पिक ऊर्जा प्रणालीलगायतका सामग्री प्रदर्शन गरिनेछ । आयोजकले प्रदर्शनीमा ३० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ । उद्योगी–व्यवसायी, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट, इन्टेरियर डेकोरेटर, प्राविधिक, विद्युतीय व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने बताइएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ ।
प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सहयोग गर्नेछन् । आयोजकका अनुसार प्रदर्शनीले ऊर्जा तथा विद्युत् क्षेत्रमा प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन, व्यापार विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।