काठमाडौं, संघीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि तीन वर्ष कायम गर्ने प्रस्तावमा सहमति जनाएको छ । राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि बिहीबार भएको दफावार छलफलका क्रममा समितिले यस्तो सहमति जनाएको हो ।
समितिका अनुसार सरकारले आवश्यक ठानेमा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि थप दुई वर्ष बढाउन सक्ने व्यवस्था पनि गरिनेछ । हाल उनीहरूको पदावधि पाँच वर्ष कायम छ । सरकारले तयार गरेको प्रारम्भिक मस्यौदामा भने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि तीन वर्ष राख्दै एक पटक थप गर्न सकिने प्रस्ताव गरिएको थियो । अर्थ समितिबाट पारित व्यवस्था अब विधेयकका रूपमा संघीय संसदमा जानेछ । संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा आउनेछ ।