काठमाडौं, गत वर्ष भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनका क्रममा उद्योग तथा व्यवसायमा परेको क्षतिको बीमाबापतको भुक्तानी निजी क्षेत्रले हालसम्म पनि पाएका छैनन् । निजी क्षेत्रले आन्दोलनका कारण २३ अर्ब रुपैयाँबराबरको सम्पत्तिमा क्षति पुगेको भन्दै दाबी गरे पनि हालसम्म सो रकम पाउन सकेका छैनन् ।
निजी क्षेत्रका उद्योग÷व्यवसायमा २३ अर्ब १९ करोड रुपैयाँ क्षति भएको भन्दै बीमा दाबी गरे पनि हालसम्म आठ अर्ब ८२ करोड रुपैयाँ मात्र बीमाबापत् भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी क्षेत्रका उद्योग÷व्यवसायबाट लघुबीमासहितका १८ वटा निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब रुपैयाको बीमा दाबी गरेकोमा करिब नौ अर्ब रुपैयाँ मात्र भुक्तानी भएको हो ।
प्राधिकरणका पुजन अधिकारी ढुंगेलका अनुसार तीन हजार दुई सय ५५ बीमितले २३ अर्ब १९ करोड रुपैयाँका लागि दाबी गरेका हुन् । बीमाबापतको रकम ढिला हुँदा निजी क्षेत्र भने मारमा परेको छ । एक वर्ष बित्दा पनि बीमाबापतको भुक्तानी नपाउँदा आन्दोलनमा क्षति भएको संरचना निर्माण तथा पुनः निर्माणका लागि असर परेको व्यवसायीहरूको भनाइ छ । बीमाबापतको रकम ढिलाई हुनले पनि लगानीको वातावरणमा असर पर्ने निजी क्षेत्रले जनाएको छ । लामो समयदेखि बन्द उद्योग सञ्चालनका लागि सरकारले पहल नगरेको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले बताए ।
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्ने उनको भनाइ छ । ‘मुलुकको आर्थिक विकासका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रमैत्री वातावरण आवश्यक छ’, उनले भने, ‘निजी क्षेत्रमाथि अत्यधिक नियमन र नियन्त्रणको सोचले लगानी निरुत्साहित हुनेछ । सरकार नियामक र सहजीकरण गर्ने भूमिकामा केन्द्रित हुनु आवश्यक छ । लामो समयदेखि बन्द उद्योग सञ्चालनका लागि सरकारले चाहे सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउन सकिन्छ । जसले स्वदेशमा रोजगारी सिर्जना गरी युवालाई विदेश जानुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुग्ने छ ।’
प्राधिकरणमा निर्जीवन कम्पनीहरूबाट भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ छ सय ९५ वटा दाबीको दाबी रकम १९ अर्ब तीन करोड ४१ लाख रुपैयाँ, मोटर बीमातर्फ दुई हजार दुई सय ९५ वटा दाबीको दाबी रकम तीन अर्ब ४४ करोड १० लाख रुपैयाँ र इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ दुई सय नौवटा दाबीको ५५ करोड चार लाख रुपैयाँ बीमा दाबी रकम परेको थियो । त्यसैगरी परिवहन बीमातर्फ १२ वटा दाबीको एक करोड ६९ लाख रुपैयाँ र अन्य बीमातर्फ ४४ वटा दाबीको ३९ करोड १८ लाख रुपैयाँ बीमा दाबी रकम परेको थियो । नेपाल पुनर्बीमा कम्पनीमा भने दुई हजार आठ सय ६० वटा पुनर्बीमा दाबीको दाबी रकम १५ अर्ब ८१ करोड रहेको थियो । करिब दर्जन बीमा कम्पनीमा बीमा रकम बीमितले दाबी गरेका थियो ।
सो समयमा आन्दोलनमा क्षति भएको भन्दै दाबी संख्या र रकमका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि रहेको थियो । कम्पनीमा तीन सय ९४ वटा दाबी चार करोड ५४ लाख रुपैयाँको लागि थियो । त्यस्तै, शिखर इन्स्योरेन्समा चार सय ३३ वटा दाबी परेको थियो भने सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन सय ४२ वटा, हिमालयन एभरेस्ट इन्स्योरेन्समा दुई सय ७० वटा, एनएलजी इन्स्योरेन्समा दुई सय पाँचवटा र नेको इन्स्योरेन्समा दुई सय ४५ वटा दाबी परेको थियो । दाबी रकमको हिसाबले सिद्धार्थ प्रिमियरपछि हिमालयन इन्स्योरेन्सतर्फ करिब चार करोड २४ लाख रुपैयाँको दाबी परेको थियो । त्यस्तै अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्सलगायत कम्पनीमा पनि करोडौं रुपैयाँबराबरको दाबी परेको थियो ।
बीमा कम्पनीहरूले अवरुद्ध परिस्थितिबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरी दाबी फछ्र्यौटको प्रक्रिया अघि बढाइरहेका छन् । तर क्षति अनुरुप बीमा कम्पनीले गरेको भुक्तानी भने पर्याप्त देखिदैन । विभिन्न प्रक्रियागत प्रणालीका कारण पनि ढिलाई भएको हुन सक्ने प्राधिकरण्का अधिकारीहरू बताउँछन् । तत्कालीन समयमा आन्दोलनका कारण निजी क्षेत्रको ३७ अर्बबराबरको सम्पत्ति पूर्णरूपमा क्षति पुगेको दाबी महासंघले गरेको थियो । यसअनुसार होटल तथा पर्यटन क्षेत्रमा २५ अर्बभन्दा बढी, अटोमोबाइल क्षेत्रमा १५ अर्बभन्दा बढी, बैंकबाट पाँच करोड नगद र १८ किलो सुन लुटिएको दाबी गरेको थियो ।
आन्दोलनमा भएको क्षतिपछि करिब १५ हजार रोजगारी प्रभावित, जीडीपीमा पाँच प्रतिशतको असर पर्नसक्ने आकलन समेत महासंघको थियो । यता अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आन्दोलनका कारण १५ अर्ब रुपैयाँ हाराहारी क्षति पुगेको आकलन गरेको थियो । नाडाका अनुसार प्रारम्भिकरूपमा काठमाडौंसहित देशभरका अटो डिलर, शोरुम, वायरहाउस, स्पेयर पाट्र्स स्टोरलगायतमा क्षति भएको छ । सबैभन्दा धेरै क्षति थापाथलीस्थित सवारीसाधन ‘शोरुम’मा भएको आकलन गरेको हो । आन्दोलनका कारण कलंकी, हेटौंडा, पोखरा, नारायणगढलगायतका ‘डिलर’मा पनि क्षति पुगेको दाबी गरेको थियो ।