काठमाडौं, व्यवसायी डा. रूप ज्योति नेतृत्वको ज्योति ग्रुपमाथि बैंकिङ कर्जा भुक्तानीको दबाब फेरि बढेको छ । राष्ट्रिय वाणिज्य बैंकले ज्योति ग्रुपअन्तर्गतको एनजीएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले लिएको चालू पुँजी तथा ब्रिज ग्याप कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
कम्पनीका संस्थापक डा. रूप ज्योति, अभिक ज्योति र सुरुची ज्योतिलाई कर्जाको जमानीकर्ता तोकिएको छ । साथै, उनीहरूसँग सम्बन्धित उपष्ठान एण्ड कम्पनी प्रालि पनि जमानी रहेको बैंकले जनाएको छ । ३५ दिनभित्र साँवा–ब्याज भुक्तानी नभए ऋणी तथा जमानीकर्तालाई कालोसूचीमा राख्ने र धितो लिलामी प्रक्रिया अघि बढाउने बैंकको चेतावनी छ । कर्जाका लागि पर्साको वीरगञ्जस्थित चोर्नीमा रूप ज्योतिको नाममा रहेको कित्ता नम्बर १३ र १५ को क्रमशः ३३ हजार एक सय ७५ र २८ हजार ९५ वर्गमिटर जग्गा धितो राखिएको छ ।
करिब एक सय २० रोपनी सात आना क्षेत्रफलको उक्त जग्गाको लिलामीका लागि बैंकले न्यूनतम मूल्य ५७ करोड ९७ लाख २१ हजार रुपैयाँ तोकेको छ । ३५ दिनभित्र ऋण चुक्ता नभए ३६औँ देखि ५०औँ दिनसम्म बोलपत्र पेस गर्न सकिने र ५१औँ दिनमा बोलपत्र खोलिने बैंकले जानकारी दिएको छ ।