काठमाडौं, घाम पावर नेपालले नेपालमा पहिलोपटक सोल्युबल लिड–फ्लो ब्याट्री (एसएलएफबी) सार्वजनिक गरेको छ । हालै काठमाडौँमा आयोजित कार्यक्रममा उक्त ब्याट्री सार्वजानिक गरिएको हो ।
बेलायतको साउथह्याम्प्टन विश्वविद्यालयका अनुसन्धानकर्ता प्राध्यापक रिचर्ड विल्सले उक्त प्रविधिको प्रदर्शन गरेका हुन् । प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त लिडलाई विद्युत् भण्डारणका लागि पुनःप्रयोग गर्ने अवधारणामा सोल्युबल लिड–फ्लो ब्याट्री आधारित छ । सौर्य तथा जलविद्युत्बाट उत्पादन हुने विद्युत् भण्डारणका लागि नयाँ विकल्पका रूपमा यो प्रविधिको विकास तथा परीक्षण भइरहेको घाम पावरले जनाएको छ ।
प्रदर्शनका क्रममा प्राध्यापक विल्सले ब्याट्रीको चार्ज र डिस्चार्ज प्रक्रिया देखाउँदै इलेक्ट्रोडमा लिड कसरी जम्मा हुन्छ र पुनः कसरी हट्छ भन्नेबारे जानकारी दिएका थिए । सोल्युबल लिड–फ्लो ब्याट्रीको विकास घाम पावर, साउथह्याम्प्टन विश्वविद्यालय, एसओलिड इनर्जी र स्वानबार्टनको सहकार्यमा भइरहेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान तथा प्राविधिक विशेषज्ञतालाई नेपालको ऊर्जा आवश्यकता र परिस्थितिसँग जोडेर प्रविधिलाई अघि बढाउने उद्देश्यले सहकार्य गरिएको जनाइएको छ ।
नेपालमा सौर्य तथा जलविद्युत् उत्पादन विस्तार भइरहेका बेला विद्युत् भण्डारण प्रणालीको आवश्यकता पनि बढ्दै गएको छ । यही सन्दर्भमा सोल्युबल लिड–फ्लो ब्याट्रीलाई नवीकरणीय ऊर्जा प्रणालीमा विद्युत् एकीकरण तथा दीर्घकालीन ऊर्जा भण्डारणका लागि सम्भावित प्रविधिका रूपमा विकास तथा परीक्षण भइरहेको हो । घाम पावर नेपालका अनुसार कम्पनी सन् २०१० मा स्थापना भएको हो । कम्पनीले हालसम्म ४ हजारभन्दा बढी आयोजनामार्फत १८ मेगावाट सौर्य ऊर्जा क्षमता स्थापना गरेको जनाएको छ । कम्पनीका अनुसार ती आयोजनाबाट ८८ हजार ६३६ टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन घटेको र ३३ हजार ७३ किलोलिटरभन्दा बढी डिजेल विस्थापन भएको छ । कम्पनीले ६० हजारभन्दा बढी मानिसको जीवनमा सकारात्मक प्रभाव परेको पनि जनाएको छ ।