काठमाडौं, क्रिएसन नेपालद्वारा सञ्चालन गरिएको ‘सफा गरौँ’ अभियानअन्तर्गत श्रावण महिनाका सोमबार सञ्चालन हुँदै आएको विशेष सरसफाइ कार्यक्रम पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ ।
यस अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । द कोका–कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा क्रिएसन नेपालको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानले श्रावण महिनामा पशुपतिनाथ मन्दिर क्षेत्रमा बढ्ने भक्तजनको चापलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापन र सरसफाइमा सहयोग पुर्याएको हो ।
श्रावण महिनाभर लाखौँ भक्तजन तथा दर्शनार्थी पशुपतिनाथ पुग्ने भएकाले स्थानीय कर्मचारी तथा स्वयंसेवकलाई फोहोर व्यवस्थापन र मन्दिर परिसरको सरसफाइमा सक्रिय बनाउन, फोहोरको उचित व्यवस्थापन गर्न तथा जथाभावी फोहोर नफाल्ने बानीलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गरिएको थियो । श्रावण महिनाभर हरेक सोमबार सञ्चालन गरिएको कार्यक्रममा स्वयंसेवकहरूले प्रत्येक साता दुई दर्जनभन्दा बढी सरसफाइकर्मीसँग मिलेर फोहोर संकलन तथा वर्गीकरण गरेका थिए । साथै, फोहोरको उचित व्यवस्थापन, सरसफाइको महत्व र नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सामूहिक प्रयासको आवश्यकताबारे जनचेतना फैलाइएको थियो ।