काठमाडौं, अग्रगामी मोर्चाले संगठनलाई गाउँ–गाउँ र वडा–वडासम्म विस्तार गर्दै आगामी राजनीतिक संघर्षलाई सशक्त बनाउने निर्णय गरेको छ । मोर्चाको सर्लाही जिल्ला समन्वय कमिटीको बैठकले संगठन विस्तारसँगै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने रणनीति तय गरेको हो ।
मलङ्गवास्थित होटल दरबार इनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सर्लाही जिल्ला अध्यक्ष रन्धिर कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा मोर्चामा आबद्ध नौ राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो । बैठकमा पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
बैठकले आगामी भदौ २७ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने अग्रगामी मोर्चाको प्रदेशस्तरीय नेता तथा कार्यकर्ता अभिमुखीकरण एवं प्रदेश मोर्चा घोषणा कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने निर्णय गरेको छ । त्यसका लागि सर्लाहीबाट ठूलो संख्यामा नेता, कार्यकर्ता तथा समर्थक सहभागी गराउने निर्णयसमेत गरिएको छ ।
‘प्रतिगमनको प्रयास भए प्रतिरोधको अग्रपंक्तिमा उभिन्छौँ’
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि संगठित संघर्ष आवश्यक रहेको बताए । उनले संघीयता समाप्त गर्ने, गणतन्त्र, धर्मनिरपेक्षता, संविधान तथा समावेशितामाथि आक्रमण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउँदै त्यस्तो अवस्था आए अग्रगामी मोर्चा प्रतिरोधको अग्रपंक्तिमा उभिने दाबी गरे ।
अन्सारीले मोर्चा कुनै क्षणिक राजनीतिक समीकरण वा सत्ता प्राप्तिको स्वार्थबाट गठन नभएको बताए । जनताको अधिकार, समानता, सामाजिक न्याय र सुशासनका लागि दीर्घकालीन राजनीतिक संघर्ष गर्ने साझा मञ्चका रूपमा मोर्चालाई अगाडि बढाइने उनको भनाइ थियो ।
‘यो मोर्चा विगतका मोर्चाजस्तो बन्ने र फेरि भत्किने होइन । यो कुनै व्यक्ति, पद वा तत्कालीन सत्ता स्वार्थका लागि बनेको मोर्चा होइन,’ अन्सारीले भने । उत्पीडित जनताको अधिकार र राज्यसत्तामा सार्थक सहभागिता सुनिश्चित गर्ने लक्ष्यसम्म हाम्रो एकता र संघर्ष कायम रहन्छ ।
एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने तयारी
अन्सारीले आगामी दिनमा मोर्चामा आबद्ध दलहरूबीचको एकतालाई थप सुदृढ गर्दै एउटै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने दिशामा अघि बढ्ने बताए ।
उनका अनुसार अग्रगामी मोर्चा निर्वाचनका बेला मात्र सक्रिय हुने गठबन्धन नभई सडक संघर्षदेखि निर्वाचन र सरकारसम्म जनताको पक्षमा संयुक्त रूपमा काम गर्ने राजनीतिक शक्तिका रूपमा स्थापित हुनेछ । ‘हामी सडकमा पनि जनताको अधिकारका लागि सँगै संघर्ष गर्छौं, चुनावमा पनि एउटै चुनाव चिन्ह लिएर जनताको बीचमा जान्छौं र सरकारमा जाने अवस्था आएमा पनि जनताको पक्षमा काम गर्न एकताबद्ध भएर सहभागी हुन्छौं,’ उनले भने ।
राष्ट्रिय स्वाधीनता, दिगो शान्ति, सुशासन र समृद्ध नेपाल निर्माणका लागि अग्रगामी राजनीतिक शक्तिहरूबीचको एकता आवश्यक रहेको उनले बताए ।
क्षेत्रदेखि वडासम्म संगठन विस्तार गरिने
बैठकले सर्लाहीमा अग्रगामी मोर्चाको संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने निर्णय गरेको छ। त्यसअनुसार संसदीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका तथा वडा तहसम्म संगठन निर्माण र विस्तार गरिनेछ ।
त्यसैगरी बुद्धिजीवी, युवा, विद्यार्थी, किसान तथा महिलालगायत विभिन्न क्षेत्रका जनसमुदायलाई संगठित गर्न भ्रातृ तथा जनसंगठन निर्माण गर्ने निर्णयसमेत गरिएको छ । अध्यक्ष अन्सारीले मोर्चामा आबद्ध सबै दलका नेता तथा कार्यकर्तालाई संगठनलाई वडा तहसम्म पु¥याउन सक्रिय रूपमा लाग्न निर्देशन दिए ।
‘उत्पीडित जनता ढुक्क हुनुहोस्, मोर्चा टुट्दैन’
अन्सारीले लामो समयदेखि राजनीतिक, सामाजिक तथा आर्थिक रूपमा उत्पीडनमा परेका समुदायलाई अग्रगामी मोर्चाप्रति विश्वास गर्न आग्रह गरे । मोर्चा सरकारमा सहभागी हुने अवसर खोज्ने मात्र नभई राज्यको चरित्र परिवर्तन, विभेदको अन्त्य र उत्पीडित जनताको अधिकार स्थापित गर्ने दीर्घकालीन अभियान भएको उनले बताए ।
‘उत्पीडित जनताले ढुक्क भए हुन्छ—यो मोर्चा टुटफुट हुँदैन। यो मोर्चा सरकारमा सहभागी हुन मात्रै गठन गरिएको होइन,’ उनले भने । ‘नेपाली उत्पीडित जनताको राज्यसत्तामा सार्थक सहभागिता स्थापित नभएसम्म र जातीय तथा साम्प्रदायिक विभेदमा आधारित शासन व्यवस्थाको अन्त्य नभएसम्म यो संघर्ष जारी रहन्छ ।’
जनकपुरको कार्यक्रम सफल बनाउन अभियान सञ्चालन गर्ने
बैठकले भदौ २७ गते जनकपुरधाममा हुने प्रदेशस्तरीय अभिमुखीकरण तथा मोर्चा घोषणा कार्यक्रमलाई व्यापक जनसहभागितासहित सफल बनाउन सर्लाहीसहित मधेश प्रदेशका सबै जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
अन्सारीले न्याय, समानता, स्वतन्त्रता, सामाजिक न्याय, जनअधिकार र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने परिवर्तनकामी नागरिकलाई जनकपुरधामको कार्यक्रममा सहभागी हुन अपिल गरे । ‘समानताको जगमा नेपाललाई उभ्याउन चाहने, विभेद र अन्यायको अन्त्य चाहने, जनताको अधिकार सुनिश्चित गर्दै नयाँ नेपाल निर्माण गर्न चाहने सबै न्यायप्रेमी र परिवर्तनकामी शक्तिहरू एक ठाउँमा उभिन आवश्यक छ,’ उनले भने ।
अग्रगामी मोर्चाले आगामी दिनमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाधीनता तथा जनअधिकारको संरक्षण र विस्तारलाई आफ्नो राजनीतिक अभियानको प्रमुख आधार बनाउने जनाएको छ । मोर्चाले संगठनलाई क्रमशः देशव्यापी रूपमा विस्तार गर्ने तयारीसमेत गरेको छ ।