बाजुरा, शनिबार रातिदेखि लगातारको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा सडक र विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराले वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट खसेको ठुलो पहिरो सडक अवरुद्ध भएको जनाएको छ । सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरु दुई दिनदेखि सडकखण्ड अवरुद्ध हुँदा यातायात ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार आइतबार नै जेसीबी प्रयोग गरेर अवरुद्ध सडकखण्ड सुचारु गर्न पहिरो पन्छ्याउने काम सुरु गरिएको थियो । तर दिउँसोबाट पुनःभारी वर्षा सुरु भएपछि रोकिएकोमा सोमबार बिहानैदेखि सडक विभागका एउटा जेसीबी र एउटा स्काभेटर लगाएर सडक खोल्ने कार्य भइरहेको छ ।
जिल्लाभर विद्युत् आपूर्ति बन्द
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सुवाकाँध र वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ खम्बा ढलेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रशारण लाइनको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । शनिबार राति करिब ९ बजे जिल्लाभर विद्युत् सेवा बन्द भएको थियो ।
विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसँगै विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् । अवरुद्ध विद्युत् सेवा मर्मतका लागि हिजोदेखि नै प्राविधिकको टोली त्यस क्षेत्रमा खटिएको कार्यालयले जनाएको छ । अवरुद्ध विद्युत् र सडक सुचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिएको जनाइएको छ ।
अवरुद्ध सडक सुचारु गर्न राप्काबाट सडक विभागका दुई वटा मेसिन लगाएर मर्मत कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए । विद्युत् सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराबाट प्राविधिक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीको टोली खटिएको छ ।