काठमाडौं, बैंकिङ क्षेत्रमा कुल निक्षेप रकमको आकार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम २०२३ को मध्य जुलाइमा ५७ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा २०२४ मा ६४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । २०२५ मा ७३ खर्ब चार अर्ब हुँदै २०२६ को मध्य जुलाइसम्म अर्थात २०८३ असार मसान्तसम्ममा कुल निक्षेप रकम ८३ खर्ब ११ अर्ब पुगेको छ ।
राष्ट्र बैंकका यो तथ्यांकअनुसार पछिल्लो एक वर्षमा मात्र बैंकिङ क्षेत्रको कुल निक्षेप करिब १३ दशमलव आठ प्रतिशतले बढेको छ । २०२६ को मध्य जुनमा ८० खर्ब ४७ अर्ब रहेको निक्षेप एक महिनामै बढेर मध्य जुलाइमा ८३ खर्ब ११ अर्ब पुगेको छ । अर्थात् एक महिनामा मात्रै करिब तीन दशमलव २८ प्रतिशतले निक्षेप रकम बढेको छ । निक्षेपको संरचना हेर्दा बचत खाता उल्लेख्य रूपमा बढेको देखिएको छ । २०२३ को मध्य जुलाइमा बचत निक्षेप १५ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा २०२४ मा १९ खर्ब ५४ अर्ब र २०२५ मा २६ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको थियो । २०२६ को मध्य जुलाइसम्म यस्तो रकम बढेर करिब २९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । बचत निक्षेपमा २०२३/०२४ मा २८ दशमलव ६६ प्रतिशत र २०२४/०२५ मा अझ उच्च ३६ दशमलव ७९ प्रतिशतले बढेको छ । पछिल्लो एक महिनामा भने चार दशमलव २२ प्रतिशतले बचत खाता रकम बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू निक्षेपतर्फको रकम पनि पछिल्लो समय उच्चरुपमा बढेको छ । २०२५ को मध्य जुलाइमा पाँच खर्ब २७ अर्ब ८९ करोड रहेको चालू निक्षेप २०२६ को मध्य जुनमा पाँच खर्ब ६६ अर्ब ९४ करोड र मध्य जुलाइमा छ खर्ब ८६ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यसरी एक महिनामा मात्रै चालू निक्षेप करिब २१ प्रतिशतले बढेको देखिएको छ ।
राष्ट्र बैंकका अनुुसार चालू र बचत खातातर्फको निक्षेप रकम बढिरहँदा यसको विपरीत मुद्दती निक्षेपमा भने पछिल्लो समय केही संकुचन देखिएको छ । २०२५ को मध्य जुलाइमा ३० खर्ब ५६ अर्ब रहेको मुद्दती निक्षेप २०२६ को मध्य जुनमा २९ खर्ब ८८ अर्ब र मध्य जुलाइमा करिब २९ खर्ब ९३ अर्ब रुपैयाँमा सीमित भएको छ । २०२४/०२५ अवधिमा पनि मुद्दती निक्षेपमा तीन दशमलव ७३ प्रतिशत गिरावट आएको थियो भने २०२६ को मध्य जुनदेखि मध्य जुलाइसम्म थप दुई दशमलव १० प्रतिशतले कमी आएको छ । कुल निक्षेप रकम भने २०२५ को मध्य जुलाइमा पाँच खर्ब ४७ अर्ब १९ करोड रहेकोमा २०२६ को मध्य जुनमा सात खर्ब एक अर्ब ५५ करोड पुगेको थियो । तर एक महिनापछि मध्य जुलाइमा यस्तो निक्षेप रकम घटेर सात खर्ब ५० करोडमा सीमित भएको छ । यस अवधिमा कुल निक्षेपमा करिब सात प्रतिशतले कमी आएको छ । अन्य शीर्षकअन्तर्गतको निक्षेप रकम भने २०२५ को मध्य जुलाइमा ४८ अर्ब २३ करोड रहेकोमा २०२६ को मध्य जुनमा ५६ अर्ब २३ करोड र मध्य जुलाइमा ५६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । एक महिनामा यो शीर्षकअन्तर्गतको निक्षेप रकम एक दशमलव ३४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप निरन्तर बढेको छ । २०२२ को मध्य जुलाइमा करिब ५१ खर्ब ५९ अर्ब रहेको कुल निक्षेप २०२३ मा ५७ खर्ब ७१ अर्ब, २०२४ मा ६४ खर्ब ९६ अर्ब र २०२५ को मध्य जुलाइमा ७३ खर्ब चार अर्ब रुपैयाँ पुगेको थियो । २०२६ को मध्य जुलाइसम्म आइपुग्दा भने यस्तो रकम ८३ खर्बभन्दा रुपैयाँभन्दा बढी पुगेको छ ।