नेपालसँगै अघि बढेका भारत चीनलगायत अन्य मुलुकहरूले कसरी विकास गरिरहेका छन् र हामी कुन अवस्थामा छौँ भन्ने कुरा बुझ्नु नितान्त आवश्यक छ । किनभने नेपाल अहिलेसम्म पनि अतिकम विकसित मुलुकमा नै छ । हामी विकास भएन भनेर चिच्याइरहेका हुन्छौँ । सरकारको असफलता भनिरहेका हुन्छौँ । भ्रष्टाचार बढ्दै गएको छ भन्दछौँ । असक्षम प्रशासन भयो भन्दछौँ । सीमित साधन स्रोतको अधिकतम उपलब्धि हासिल हुने गरी प्रयोग भएन भन्दछौँ । सरकार सत्तामुखी मात्र भयो जनमुखी हुन सकेन भन्दछौँ । देशमा सुशासन हुन सकेन भन्दछौँ । यसरी अहिले जति पनि आलोचना भइरहेको छ त्यसमा केही सत्यता हुन सक्दछ । तर, सबै कुरा सत्य भने होइनन् । यही कुरा हामीले बुझ्न नसक्नु नै समस्याको मुख्य कारण हो ।
राज्य क्षमताको कमजोर अवस्था आउनलाई केवल सरकार मात्र दोषी हुँदैन । यसका अन्य बाह्य कारण पनि छन् । तर, मुख्य एजेन्ट भनेको त सरकार नै हो । सरकार स्थायी र दिगो हुन सक्यो भने उसले धेरै परिवर्तन ल्याउन सक्ने हुन्छ । निकम्पा सरकारबाट अग्रगामी परिवर्तनको आशा गर्न सकिँदैन । नेपालमा अहिले यही भइरहेको अवस्था छ ।
नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भइसकेको छ । अहिले देश राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीमा प्रवेश गरेकोे छ । यो विश्वमा नै उत्कृष्ट भनिएको शासन प्रणाली हो । यद्यपि मुलुकमा प्रगति हुन सकेको छैन । अहिले पनि निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या २० प्रतिशत भन्दा बढी छ । कुल गाहस्थ उत्पादन ६१ खर्बभन्दा माथि उक्लन सकेको छैन ।
प्रतिव्यक्ति आय १५०० अमेरिकी डलर को हाराहारीमा छ । देशको अर्थतन्त्र विप्रेषणले धानिएको छ । यही रकमले घरपरिवारको खर्च चलेको छ र केही हदसम्म गरिबी घटाउनसमेत सहयोग पुगेको छ । सामान्य नागरिकको आँखाबाट हेर्दा देश पछि पर्नुमा यिनै कारण हुन सक्दछन् । तर सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने यी कारण मात्र पर्याप्त छैनन् । बाह्य कारण पनि त्यतिकै जिम्मेवार देखिन्छन् ।
अहिले वैदेशिक रोजगारीको लागि ठूलो जनशक्ति पलायन भएको छ । विप्रेषणबाट आउने पैसा पनि धेरै छ । आर्थिक वर्ष ८२।८३ मा त २३ खर्बभन्दा बढी प्राप्त भएको छ । जहाँ गत आर्थिक वर्षमा कुल बजेट २१ खर्वको हाराहारीमा मात्र थियो । निश्चय नै विप्रेषणको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी प्रवाह भएको छैन । करिब ६८ प्रतिशत रकम त उपभोगमा नै खर्च भएको तथ्यांकले देखाएको छ । अर्को बुझ्नुपर्ने कुरा के छ भने यो रकम सधैँ आइरहने पनि होइन । रोजगारदाता मुलुकमा राजनीतिक तथा आर्थिक नीतिमा हुने परिवर्तनबाट प्रतिकूल असर पारेको हुन्छ नै । मध्यपूर्वमा हालै भएको तनावले गर्दा धेरैजसो यो जनशक्ति स्वदेश फर्किएको अवस्था छ । यसले गर्दा नेपालको अर्थतन्त्र प्रभावित हुन सक्दछ ।
राज्यको आर्थिक क्षमतामा योगदान दिने महत्वपूर्ण क्षेत्र पर्यटन हो । पर्यटन विकासको अत्यधिक सम्भावना हुँदाहुँदै पनि अपेक्षित विकास हुन सकेको छैन । पूर्वाधारको अभाव र पटक–पटक हुने बन्द हड्ताल जस्ता कारणहरूले गर्दा पनि पर्यटकको संख्या बढ्न सकेको छैन । गुणस्तरीय सेवा दिन नसकेको हुँदा अधिकांश साधारण पर्यटक मात्र आउने गरेका छन् । धेरै खर्च गर्ने र लामो बसाइ गर्ने पर्यटकको संख्या कमी भएको हुनाले यस क्षेत्रको विकास अपेक्षित रुपमा हुन सकेको छैन ।
राष्ट्रिय अर्थतन्त्र उत्पादनमूलक नभएकोले सामान्य आवश्यकता समेत आयातबाट परिपूर्ति हुँदै आएको छ । आयातमा आधारित अर्थतन्त्र भएकोले आन्तरिक उत्पादन घट्दै गएको छ ।
कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २४% रहेको छ । अधिकांश नेपालीको जीवनयापन गर्ने कृषि भए पनि यसको विकास गर्न नसकिएको हुँदा खाद्यान्नमा समेत आत्मनिर्भर हुन सकेको छैन र आयातमा नै निर्भर हुनु परेको छ । समयमा मल बिउ उपलब्ध हुन नसक्नु सामान्य हुने गरेकोे छ भने सिंचाई, कृषि उपकरण, कृषि अनुसन्धान जस्ता कार्यहरू त निकै परका विषय भएका छन् ।
देशको अर्थतन्त्र आयातमा निर्भर हुँदै गएको छ । त्यसैले गर्दा स्वदेशी उद्योग तथा व्यवसाय फस्टाउन सकेका छैनन् । कुल क्षमताको ४०– ५० प्रतिशतको हाराहारीमा उत्पादन हुँदा चालू खर्चसमेत धान्न मुस्किल छ । यसले गर्दा नयाँ उद्योग स्थापना हुने सम्भावना न्यून हुँदै गएको छ भने सञ्चालनमा रहेका उद्योगहरू पनि बन्द हुने अवस्थामा देखिएका छन् ।
जलविद्युत् विकासको सम्भावना अत्यधिक भए पनि यसको विकास हुन नसकेकोले अवस्था छ । ८३ हजार मेगावाट क्षमता भएकोमा अहिले ४००० मेगावाटबाट प्रयोगमा ल्याउन सकिएको छ । मूल समस्या भनेको भौगोलिक विकटता, आर्थिक स्रोत जुटाउन नसकिएको, उत्पादनमा लामो समय लाग्नु, प्रशासनिक झन्झट जस्ता थुप्रै समस्या रहेका छन् । त्यसैले गर्दा अधिकांश आयोजनाहरू समयजन्य र लागतजन्य हुने गरेका छन् ।
हालै भोटेकोशी नदीमा आएको बाढीले धेरै धन जनको क्षति पु¥याएको छ । अहिले एकिन तथ्यांक आइनसकेको भए खवौँको क्षति भएको अनुमान छ । यो क्षतिले वर्तमानलाई यसै हानि पु¥याएको छ भविष्यलाई समेत धक्का दिने छ । यी सन्दर्भहरू नेपालका आफ्नै आन्तरिक हुन् । यिनीहरूको निराकरण गर्ने नसकिने होइनन् । मुख्य कुरो सत्तामा रहने सरकार प्रतिबद्ध हुनु पर्दछ । असम्भव भन्ने कुनै कारण देखिँदैनन् । किनभने नेपालसँग प्रशस्त मात्रामा प्राकृतिक साधन स्रोत छन् । यिनीहरूलाई कार्यान्वयनमा ल्याउन नसक्नु नै मुख्य समस्या हो ।
नेपालको विकास हुन नसक्नुमा बाह्य कारणहरू पनि त्यतिकै जिम्मेवार देखिन्छन् । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा नेपालमा वस्तुको मूल्य वृद्धि हुनु स्वभाविक नै हुन्छ तर हामीहरू भन्दै गर्छौं कि सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न सकेन । त्यस्तै हाम्रो अर्थतन्त्र आयतमा आधारित छ । यसले गर्दा आयातित वस्तुको मूल्य बढ्नुलाई पनि अन्यथा भन्न सकिँदैन ।
बुझ्नुपर्ने कुरा के रहेछ भने नेपालमा जति नै समस्या छन् ती सबै नेपालमा उत्पादन भएका होइनन् । खास गरेर राजनीतिक समस्या भन्दा पनि नेपालको अर्थतन्त्र बाह्य संसारसँग जोडिएको छ । वैदेशिक रोजगारी, इन्धनमा मूल्य वृद्धि, विप्रेषण, बाह्य लगानी, विदेशी वस्तुमा मूल्यवृद्धि जस्ता क्षेत्रमा नेपालले खासै केही गर्न सक्ने अवस्था हुँदैन र यिनीहरूले अर्थतन्त्रमा प्रभाव पारेकै हुन्छन् । तर पनि सरकारले सुधार गर्न सक्ने कुरामा पनि केही नगरेको भने निश्चय नै हो ।
अबको बाटो
अहिले करिब दुईतिहाइको बहुमतको सरकार छ र आम नागरिकले यो सरकारलाई विश्वास पनि गरेका छन् । यद्यपि सरकारले जनचाहना अनुसार काम गर्न नसकेको हुनाले जनतामा वितृष्णा पनि बढ्दै गएको देखिन्छ ।
नेपालमा देखिएका जति पनि समस्या छन् ती सबै राज्य क्षमताको आन्तरिक कारणबाट मात्र सिर्जित भएका निश्चय नै होइनन् र बाह्य कारणबाट मात्र पनि होइनन् । कतिपय कारणहरू आन्तरिक छन् भने कतिपय कारणहरू बाह्य संसारबाट आएका छन् । त्यसकारण बाह्य कारणहरू हाम्रो काबु बाहिरको भए पनि आन्तरिक समस्याहरू भने सुधार गर्न सकिने नै हुन्छन् ।
पटक–पटक सरकार परिवर्तन हुँदा नीतिहरू पनि बदलिने भएका हुनाले उद्योगी व्यवसायीहरू विश्वस्त हुन सकेनन् । जसको कारणबाट देशको अर्थतन्त्र फस्टाउन सकेन । भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, बेरोजगारी जस्ता कुराहरू आफ्नै देशमा सिर्जना भएका हुन् । त्यसैले बाह्य कारणहरूलाई दोष लगाउनु भन्दा देशभित्रकै समस्या समाधान गर्नुपर्ने आजको आवश्यकता हो । अहिलेको बलियो सरकारले कमजोर प्रदर्शन गर्नु हुँदैन । जनताको चाहनाअनुसार अघि बढ्नु पर्दछ ।
नेपाल दुई ठूला देश भारत र चीनबीच रहेको छ । दुबै देश विकासमा धेरै अघि देखिन्छन् । जनसंख्या र भूगोलको दृष्टिले नेपालको तुलना नै गर्न सकिँदैन । नेपाल सानो देश भए पनि यी देशबाट धेरै फाइदा लिन सकिने थियो । किनभने हामीले जति पनि उत्पादन गर्न सक्दछौँ भारत र चीनमा निर्यात गर्न सकिन्थ्यो । तर, नेपालले उत्पादन गर्न नसकेको हुनाले न्यून मात्रामा निर्यात हुने गरेको छ ।
त्यसकारण निजी क्षेत्रलाई प्रोत्साहन गरेर उत्पादन गर्ने हो भने नेपालको आर्थिक क्षेत्रको विकासको संभावना धेरै रहेको छ । दुई देश बीचमा रहेको हुनाले लिन सकिने फाइदाको साथसाथै चुनौती पनि त्यत्तिकै रहेका छन् । सन्तुलित आर्थिक कुटनीति अपनाएर परिवर्तित विश्व परिवेशअनुसार नेपाल अघि बढ्नु पर्दछ ।