नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ ज्योतिप्रकाश पाण्डेले थुना बाहिरै रहेर स्मार्ट टेलिकम धितो लिलामी प्रकरणमा मुद्दा लड्न पाउने भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको हो । उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी स्वामित्वमा आइसकेको भनिएको स्मार्ट टेलिकमको सम्पत्ति बैंकले आफ्नो धितो भन्दै लिलाम बिक्री गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
सो अभियोगमा उनीसहित २२ जनाविरुद्ध ९६ अर्ब १२ करोड १७ लाख बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरिएको थियो । ती २२ जनामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, सीईओ ज्योतिप्रकाश पाँडे, स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी, नरेन्द्र उलक, पलिना श्रेष्ठ, भाष्कर नरसिंह जोशी, प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाल, दीपांकर शाक्य उडाइ, शालिकराम बेलवासे, शोभा श्रेष्ठ, खुमनाथ अधिकारी, सतिशलाल आचार्य, सचिनलाल आचार्य, श्रीधीर हरिपुक्ता हंस विजयसुरिया, अब्दुजावोर कायिमोभ, थन्डालाम भिरभल्ली थिरुमलाचारी, अमाले नानायाकरा, भावना सिंह श्रेष्ठ आचार्य, भूपेन्द्र भण्डारी, डोनाल्ड जेम्स रे, नियो हुई यू रहेका छन् ।
तर न्यायाधीश जोशीको इजलासले ८० लाख धरौटीमा उनलाई छाड्न आदेश दिएको हो । योसागै उनले बैंकको कामकारबाही अघि बढाउन र बाहिरैबाट सो मुद्दाको सामना गर्न सक्ने भएका छन् ।