काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा रोमाञ्चक जित दर्ता गरेको हो ।
कर्णालीको जितमा कप्तान सोमपाल कामी नायक बने । उनले ३२ बलमा अविजित ६२ रन बनाए । सोमपालको इनिङ्समा ४ चौका र ३ छक्का सामेल थियो । उनले गुल्सन झासँग सातौँ विकेटका लागि अविजित ६४ रनको साझेदारी गर्दै कर्णालीलाई जितसम्म पुर्याए । गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे ।
अन्तिम ओभरमा कर्णालीलाई जितका लागि ८ रन आवश्यक थियो । पहिलो बलमा सोमपालले एक रन लिए । दोस्रो बलमा गुल्सनले दुई तथा तेस्रो बलमा एक रन जोडे । त्यसक्रममा विराटनगरका लोकेश बमले गुल्सनको क्याच छुटाए । त्यसपछि चौथो र पाँचौँ बलमा सोमपालले लगातार दुई–दुई रन जोड्दै कर्णालीलाई रोमाञ्चक जित दिलाए ।
कर्णालीले सुरुवातमै पाँच विकेट सस्तोमा गुमाएपछि सोमपाल र पवन सर्राफले टोलीको इनिङ्स सम्हालेका थिए । सोमपालले छैटौँ विकेटका लागि पवनसँग ६६ रनको साझेदारी गरे । पवन २८ बलमा ३६ रन बनाएर आउट भए ।
कर्णालीका मार्क वाट १, दीपक डुम्रे २०, अक्बर अली १, अरिफुल इस्लाम ३२ तथा हुसेन तलत शून्य रनमा आउट भए । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिए । चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रनको बलियो योगफल तयार पारेको थियो ।
विराटनगरका ओपनर लोकेश बमले शानदार ब्याटिङ गर्दै ५२ बलमा ८७ रन बनाए । उनले ३ चौका र ९ छक्का प्रहार गरे । लोकेशले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए ।तर, १६औँ ओभरको पाँचौँ बलमा कर्णालीका कप्तान सोमपाल कामीको बलमा आउट भएपछि लोकेश एनपीएलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्नबाट १३ रनले चुके ।
एन्जेलोले २२ बलमा ३१ रन बनाए । इम्रान शेख ५, चरिथ असलंका ३ तथा शेहान जयसूर्या ११ रनमा आउट भए । आन्द्रे रसेलले १५ बलमा २७ रन बनाए भने बसिर अहमदले १३ रन जोडे । सुजन थपलिया अविजित रहे ।
बलिङमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा ३३ रन खर्चिए । सोमपालले लोकेश, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई आउट गरे । मार्क वाट र नन्दन यादवले समान १ विकेट लिए ।
एनपीएलमा शुक्रबार कुनै खेल राखिएको छैन ।