काठमाडौं । युक्रेनका लागि पूर्वअवैतनिक वाणिज्यदूत किरण वैद्य पक्राउ परेका छन् । हदबन्दीभन्दा बढी रहेको जग्गा बिक्री गर्ने भन्दै बैना रकमका रूपमा ५ करोड ४० लाख ९६ हजार ९४० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–२० मा रहेका कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गा हदबन्दीका कारण बिक्री–वितरण गर्न नमिल्ने अवस्था रहे पनि वैद्यले उक्त जग्गा बिक्री गर्ने भन्दै रकम लिएको आरोप छ ।
यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ अनुमति लिएर वैद्यलाई नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार काठमाडौं महानगरपालिका–३ का ७० वर्षीय वैद्यलाई नक्सालबाट पक्राउ गरिएको हो ।प्रहरीले जग्गा बिक्रीका लागि बैना लिएको तर कानुनी हदबन्दीका कारण जग्गा बिक्री गर्न नमिल्ने अवस्था रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
वैद्यविरुद्ध ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।