प्रकृतिलाई मानिसले जहिल्यै दोष दिइरहेको हुन्छ । केही दिन घाम लाग्यो भने—‘कस्तो चर्को घाम लागेको होला !’ केही दिन पानी पर्यो भने— ‘कस्तो धेरै पानी परेको होला!’ घाम नलागेमा—‘कस्तो घाम नै नलागेको होला !’ बाढी आयो भने—‘कस्तो ठूलो बाढी आएको होला !’ पहिरो गयो भने—‘कस्तो पहिरो गएको होला !’ पानी नपरेर खडेरी लाग्यो भने—‘कस्तो खडेरी परेको होला !’ आदि इत्यादि । तर मानिसले बुझ्दैन कि, म प्रकृतिमा छु, प्रकृतिमा पानी पनि पर्छ, हिउँ पनि पर्छ, खडेरी पनि लाग्छ, पहिरो जान्छ, आँधी हुरी चल्छ, यो सबै खेप्दै, सहँदै, प्रकृति अनुरूप ढल्दै, यसबाट केही लिँदै केही गुमाउँदै नै हामी आज यो मानव सभ्यतासम्म आइपुगेका छौं ।
त्यसैले, प्रकृतिले जीवन दिन्छ, र कहिलेकाहीँ जीवन लिन्छ पनि । सोही अनुरूप, महामारी आउँछ, रोग फैलिन्छ, आफैँले बनाएका चिज वस्तुबाट दुर्घटना हुन्छ, नयाँ कुरा सिक्छ मानिस दुःखमा रुन्छ, विलाप गर्छ, सुखमा हाँस्छ, रमाइलो गर्छ । पीडालाई कम गर्ने कोसिस गर्नु, दुःखलाई भुल्ने कोसिस गर्नु, नयाँनयाँ आविष्कार गर्नु, महामारी र प्राकृतिक कुराहरूबाट जोगिएर नै जीवन चलाउनुपर्ने रहेछ र लाखौं वर्षदेखि मानवलगायत प्रकृतिमा बस्ने सबैले यस्तै नै भोगेर नै आज आधुनिक समाज भएको छ, तर हामी प्रायः हरेक प्रकृतिको क्रियाकलापलाई प्रकृतिको दोषका रूपमा हेर्ने गर्छौं । तर अब बहस सुरु गर्ने बेला आएको छ—प्राकृतिक वा प्रकृतिमा भएका घटनालाई दोष दिने कि आधुनिक भन्ने मानिसले यसलाई सामान्य मान्ने वा यस्तै हुने नै कुरा हो भनेर चित्त बुझाउने कि वा प्राकृतिक रूपमा भएको विनाश प्रकृतिको मात्र दोष हो कि त्यसमा मानवको पनि भूमिकाले गर्दा वा मानवीय भूलले गर्दा भएको हो भनी सामान्य मान्ने ? प्रकृतिले हामीमाथि अन्याय गरेको हो कि मानिसले प्रकृतिमाथि गरेको शोषण र हस्तक्षेपको परिणाम हामीले भोगिरहेका छौँ ? अर्थात् सामान्य हुनै नसक्ने घटना बाहेक हुन सक्ने तर लापरबाही भनौं या अन्जान वा त्यसलाई आकलन गर्न नसकी परेको समस्या भनौं यसको बहस सुरु गर्ने बेला भएको छ ।
यो पृथ्वी हो, यसमा भूइचालो पनि जान सक्छ, डढेलो पनि लाग्न सक्छ, सुनामी आउन सक्छ, बाढी पहिरो, आँधी हुरी जे पनि आउन सक्छ, यस्तो जे पनि हुन सक्ने कुरालाई विपत्ति भन्ने कि यसलाई सहज लिई आफैँले पूर्वतयारीमा बस्ने भन्ने सवाल आजको गम्भीर प्रश्न हो ।
अझ गम्भीर प्रश्न त यो हो—संसारभरि भइरहेका सबै विपत्ति प्रकृतिले नै सिर्जना गरेको हो कि कतिपय विपत्ति मानिस आफैँले सिर्जना गरेका हुन् ? अथवा, प्रकृतिमा हुने सामान्य घटनालाई मानिसले आफ्नो दृष्टिकोणबाट मात्र ‘विपत्ति’ को नाम दिएको हो ?
प्रकृतिबाट मानिसले अनगिन्ती कुरा प्राप्त गरेको छ । वास्तवमा प्रकृतिले मानिसलाई मात्र होइन, सुरुमुनिदेखि भुसुनासम्म, अर्थात् विशाल जीवदेखि सूक्ष्म जीवसम्म सबैलाई जीवन धान्न आवश्यक स्रोत र आधार दिएको छ । त्यही भएर पो मानव र अन्य जीवजन्तु रूपरङ भएका र निर्जीव वस्तु पनि प्रकृतिमा छन्, हावा, पानी, माटो, वनस्पति, अन्न, ऊर्जा र जैविक विविधता—यी सबै प्रकृतिका उपहार हुन् । यिनै स्रोतमा निर्भर भएर पृथ्वीका असंख्य जीवहरूको जीवन चलिरहेको छ । जसको वातावरण जहाँ मिल्न सक्छ त्यहाँ जीवन धानेको छ र अनुकूलित वातावरण नभएमा, त्यसको विनाश पनि भएको छ ।
प्रकृतिले मानवलाई त झन् सर्वश्रेष्ठ हुने बुद्धि, विवेक दिएको छ, हावा दिएको छ, पानी दिएको छ, जीवन जिउन चाहिने हरेक आवश्यकता पूरा गरिदिएको छ ।
हामीलाई दिएअनुसार, हामीले नै वातावरण प्रदूषण गरेका छौं, हावालाई दूषित पारेका छौं, समुद्रलाई दूषित पारेका छौं, हामी आफैमा झगडा गरेका छौं, युद्ध गरेका छौं, वायु प्रदूषण, ध्वनी प्रदूषण लगायत, माटोलाई समेत प्रदूषित बनाएका छौं, भविष्यमा आइपर्ने भवितव्य अनुसार अगाडि बढेका छैनौं । यसको दोहन गरेका छौं । राम्रो बनाउने प्रयत्न पनि भएको छ, तर नराम्रो पनि उत्तिकै मात्रामा गरेका छौं ।
त्यसैले प्रकृतिलाई केवल हाम्रो आवश्यकता पूरा गर्ने स्रोतका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । प्रकृति आफैँ एउटा जीवन–प्रणाली हो, जहाँ हरेक जीवको आ–आफ्नो भूमिका र स्थान छ ।
प्रकृतिमा परिवर्तन हुनु स्वाभाविक हो । वर्षा हुनु, नदी बढ्नु, हावाहुरी आउनु, तापक्रम घटबढ हुनु, खडेरी पर्नु—यी सबै प्राकृतिक प्रक्रियाका विभिन्न रूप हुन् । तर यस्ता प्राकृतिक घटनाबाट उत्पन्न हुने क्षति र त्यसबाट मानिस तथा अन्य जीवहरूले भोग्ने समस्या नै हाम्रो लागि ‘विपत्ति’ बन्न पुग्छ । त्यो विपत्ति मान्ने कि आफैं हामी मानवले सिर्जना गरेको हो भनी यसलाई सहज रूपमा लिने । त्यसैले विपत्ति भन्नासाथ प्रकृतिलाई मात्र दोष दिनुभन्दा त्यसबाट उत्पन्न हुन सक्ने जोखिम र समस्याबाट कसरी बच्ने, कसरी सावधानी अपनाउने र कसरी प्रकृतिसँग सन्तुलित भएर बाँच्ने भन्ने विषयमा सोच्न आवश्यक छ ।
हामीले प्रकृतिलाई जित्न खोज्ने होइन, प्रकृतिलाई बुझ्न र त्यससँग सहअस्तित्व कायम गर्न सिक्नुपर्छ । प्रकृतिलाई दोष दिनुअघि एउटा प्रश्न आफैँलाई पनि सोध्नुपर्छ—‘यसमा मेरो भूमिका कति छ ?’ हरेक नागरिकले हरेक दिन प्रकृतिलाई विनाश गरिरहेको हुन्छ भने यसलाई बचाउन पनि हरेक मानिस नै हरेक दिन लाग्नुपर्ने आवश्यकता छ । व्यक्ति, समाज, क्षेत्र, देश, महादेश गरी सबै विश्वका मानिसहरूले प्रकृतिको विनाश हुनबाट आआफ्नो तर्फबाट पहलकदमी गर्नुपर्दछ, किनकि प्रकृति संवेदनशील छ भने मानव पनि संवेदनशील हुनुपर्छ । प्रकृतिले हामीलाई जीवन दिएको छ; अब प्रकृतिप्रति हाम्रो जिम्मेवारी के हो भन्ने बहस गर्ने समय आएको छ ।
अस्तव्यस्ततालाई हटाउनुपर्ने बेला आएको छ, जीवनसँगै यो जगतलाई बचाउनुपर्ने बेला आएको छ, नत्र भोलिका हाम्रा सन्ततिले अझै बढी समस्यामा गुज्रिनुपर्ने हुन्छ, खडेरी, भोकमरी जस्ता समस्या अझै आउनसक्ने छ भने मानव सभ्यता नै धराशायी हुने समेत आकलन गर्न सकिन्छ ।
राज्यको भूमिका
विपद् पूर्व नै विपद् व्यवस्थापनको पूर्ण तयारी हुनुपर्दछ । हुन त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सहयोगी हातहरूले तदारुकताका साथ काम गरेको त देखिन्छ । तर पनि प्राकृतिक विपत्ति नहुञ्जेल कसैले यस्तो होला भन्ने आँकलनसमेत गर्दैनन् । कस्तो खालको प्रभाव पर्ला भन्ने अनुमान पनि गर्दैनन् । जथाभावी घरबस्ती बसाल्छन्, सहर कता बसाल्ने, घर बनाउन लायक जग्गा कुन हो, खेती गर्ने जग्गा कुन हो भन्ने कागजमा मात्र सीमित भइसक्यो, विपद् नपरुन्जेल राज्यको पनि आँखा खुल्दैन । नेपालमा खोलालाई राम्रोसँग बग्न नदिई, बागमतीलगायत, विष्णुमती, मनोहरा खोलामा समेत दुईतिर फोहोर थुपारी, खोलालाई सानो बनाइ, दुईतिरैबाट बाटो बनाइ जोखिम अझै बढाइएको छ । र खोला किनारमै घर बनाउने स्वीकृति दिइएको छ । ठूला नदी किनारमा समेत घर बनाउने स्वीकृति दिनु भनेको एम्बुसमा बस्नु जस्तै हो । परेपछि आत्तिनुभन्दा विपद् पर्न नदिने गरी संरचना बनाइनुपर्दछ, कहिलेकाहीं गर्दाभन्दा पनि जस्तो आपद र विपद पनि पर्न सक्छ तर त्यसलाई कसैको केही लाग्दैन ।
हेपाहा प्रवृत्ति गरी, खाली जग्गाको दोहन हुन दिनु हुँदैन, नेपाल भूपरिवेष्ठित देश भएको कारण यहाँको समस्या भनेको, बाढी पहिरो, र डुबानको समस्या हो । यसको लागि उचित निकास गर्नु अत्यन्तै आवश्यक देखिन्छ, प्राकृतिक रूपमा बग्ने नदीलाई उसको बाटो छोडिदिनुपर्दछ । संरचना बनाउँदा पनि अब ध्यान दिने बेला आएको छ, पुल कस्तो बनाउने, खोलाको कति टाढा घर बनाउने, विपद् परिहाल्यो भने नागरिकलाई कसरी चाँडोभन्दा चाँडो सचेत गराइ सुरक्षित ठाउँमा पु¥याउने, पीडितहरूको कति सक्दो चाँडो उद्धार, र आधारभूत औषधि उपचार गर्ने लगायत, कति सक्दो चाँडो उनीहरूको पुनर्वास गराउने र पीडितलाई चाहिएको बेला राहत र जीवन चलाउन गाँसको लागि कामको व्यवस्था, बस्ने घरको व्यवस्था र लगाउने लुगाको लागि आम्दानी गर्ने स्रोत बनाउन जरुरी छ । हरेक वर्ष बाढी आउँछ, पहिरो जान्छ, बसेका सुकुम्बासीहरूलाई पनि हटाइयो तर गाँस, बास र कपास नहुनेलाई उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो ।
नेपालमा सुरक्षा निकायलगायत विपद्को बेला, यसपश्चात् र विपद् पूर्व पनि काम गर्ने निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ, जसको काम भनेको विपद् आउनुअगाडि पनि तयारी गर्ने, विपदको बेला पनि सबै निकायहरूलाई समन्वय गर्नुको साथै विपद् भइसकेपछि पनि सबै निकायलाई समन्वय गर्ने काम यो प्राधिकरणको हो ।
हालको बाढीले हामीलाई धेरै पाठ पनि सिकाएको छ, जलवायु परिवर्तनसँगसँगै मानवीय भूल पनि धेरै नै भइरहेको छ, त्यत्रो ठूलो नदीमा बाढी आउँछ भन्ने थाहा थियो भने खोलाको किनारमै बस्ती किन बस्न दिइयो, यो आजको समस्या हुँदै होइन, जुन बेला बस्ती विकास गरियो त्यही बेलादेखि नै समस्या निम्त्यायो, यसको साथै जोखिमको अनुमान थियो भने त्यसअनुसार बस्ती विकास किन गरिएन, खेती हुनु खेती गर्नु, ठीक छ, भोलि पनि बाढी आउँदा त्यो खेती मात्र लान्छ, मानवीय क्षति कम हुन्छ । तर ठूला नदीको कति टाढा बस्ती बसाल्ने भन्ने अध्ययन किन गरिएन ? यदि बाढी आउने थाहा थियो भने र हामीसँग पूर्वसूचना दिने प्रणाली थियो भने किन भयावह स्थिति आउँदैछ भन्ने उचित तरिकाबाट जानकारी दिइएन र जोखिमयुक्त क्षेत्रमा घर बनाउन स्वीकृति दिने प्रणाली किन रोकिएन ? यसो हेर्दा लाग्छ विपद् आएपछि उद्धार गर्नु मात्र विपद् व्यवस्थापन हो कि विपद् आउनुअघि मानिसलाई जोखिमबाट टाढा राख्नु पनि राज्यको जिम्मेवारी हो, यस्ता धेरै जोखिमको पूर्ण रूपमा अध्ययन गरी अब आउने दिनमा यत्तिकै मानवीय क्षति हुनु हुँदैन ।
राज्यको जिम्मेवार व्यक्ति र सम्बन्धित निकायले अनुमान नभएको हो कि अनुमान भएर पनि हेलचेक््रयाइँ गरिएको हो यो कि राज्यलाई थाहा होला कि त जानकार व्यक्तित्वलाई थाहा होला । साथै, संरचना बनाउँदा नै भूकम्प आउँदा, आगलागी हुँदा वा पहिरो जाँदा कसरी बच्ने भन्ने आम नागरिकलाई चेतना दिनुका साथै यसको पूर्वतयारी अवस्थामा बस्नुपर्ने देखिन्छ । हो कुनै–कुनै भवितव्य कसैले पनि अनुमान गर्न नसक्ने खालको हुन्छ तर, हरेक क्षेत्रमा लापरबाही हुनु राज्यको चरम लापरबाही र हेपाहापन हो । आशा छ आउने दिनमा आम मानिसले यस्ता प्राकृतिक कुराहरूबाट अकालमा ज्यान गुमाउनु नपरोस् ।