काठमाडौं, एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सिराहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर तथा प्रोजेक्टर सहयोग गरेको छ । विद्यार्थीहरूको पठनपाठनलाई सहज र प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले ती विद्यालयलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो ।
बैंकका अनुसार सिराहाको धनगढीमाई नगरपालिका–९, चैनपुरस्थित श्री महावीर माध्यमिक विद्यालयमा हाल छ सय ७२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । भदौ ३१ गते आयोजित कार्यक्रममा बैंकका लहान सर्कल हेड लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर शाहले विद्यालयका प्रधानाध्यापक रामकुमार ठाकुरलाई एक थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर हस्तान्तरण गरे । त्यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिका–२, कर्मलास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई एक थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर प्रदान गरिएको छ । सोही दिन बैंकका मगरागढी शाखा प्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयका प्रधानाध्यापक कलमबहादुर शाहीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा दुई सय ९३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१९ जब्दीस्थित श्री पञ्चायत रजत जयन्ती आधारभूत विद्यालयलाई दुई थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर सहयोग गरिएको छ । बैंकका इटहरी सर्कल हेड विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण दंगाललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा १६९ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
यस्तै, मोरङको सुनवर्षी नगरपालिका–२, अमरदहस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई दुई थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर प्रदान गरिएको छ । भदौ ३० गते आयोजित कार्यक्रममा बैंकका दमक सर्कल हेड भुपेन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक धनबहादुर बस्नेतलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । उक्त विद्यालयमा एक हजार एक सय ५७ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बैंकले जनाएको छ ।
चारवटै विद्यालयमा बैंकले उपलब्ध गराएको प्रविधिजन्य सामग्रीले विद्यार्थीको शिक्षण–सिकाइ प्रक्रियालाई थप सहज, सरल र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ । साथै, सामुदायिक विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्दै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बैंकले जानकारी दिएको छ ।