काठमाडौं, सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । यही असोज १ गते बसेको बैंक सञ्चालक समितिको ४८२औं बैठकले आव २०८२/८३ को वितरणयोग्य नाफा एवं पुँजी समायोजन कोषबाट बैंकका साधारण सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशतको लाभांश घोषणा गरेको हो ।
त्यसैगरी अग्राधिकार सेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव समेत गरिएको छ । अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ आषाढ मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने नगद लाभांश (नगद लाभांशमा लाग्ने करसहित) समानुपातिक रुपमा प्रदान गरिने छ ।
साधारण सेयरतर्फ बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँमा १० प्रतिशत बराबरको १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँको बोनस सेयर तथा १० प्रतिशत बराबरको १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको होे । साथै, अग्राधिकार सेयर ३ अर्ब ५० करोडमा ८.२५ प्रतिशतका दरले १० करोड ७५ लाख ८९ हजार ०४१ रुपैयाँको नगद लाभांश सेयर बाँडफाँट भएको मिति देखि समानुपातिक रुपमा प्रस्ताव गरेको हो ।
उपरोक्त बमोजिमको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेको छ । यस नाफा अघिल्लो वर्षको नाफाको तुलनामा ११ करोड रुपैयाँ अर्थात् ३.३२ प्रतिशतको वृद्धि हो । यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निष्क्रिय कर्जाको अनुपातलाई ३.५२ प्रतिशतमा सिमित गर्न सफल भएको छ ।
२०८३ असार मसान्तमा बैंकको चुक्ता पुँजी १४ अर्ब ७९ करोड रुपैयाँ र अग्राधिकार सेयर ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकको नेटवर्थ ३६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा ५ अर्ब ९१ करोड रुपैयाँले वृद्धि भएको छ । यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रतिसेयर २२४.८९ रुपैयाँ रहेको छ, जुन गत आवमा २१९.७७ रुपैयाँ थियो । यो गत आवको तुलनामा २.३३ प्रतिशतले वृद्धि हो । साथै, यस आर्थिक वर्षमा बैंकको प्रति सेयर आम्दानी २२.७८ रुपैयाँ रहेको छ, जुन गत आवमा २२.७६ रुपैयाँ रहेको थियो ।
नेपाल प्रिमियर लिग लक्षित आकर्षक योजना
नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै सिद्धार्थ बैंकले नयाँ ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । एनपीएलको टाइटल स्पोन्सरका रूपमा आबद्ध बैंकले ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको हो ।
बैंकका अनुसार सिद्धार्थ एनपीएल क्रेडिट कार्ड योजनाअन्तर्गत २०८३ असोज १ गतेदेखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । कार्ड जारी गर्दा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइनेछ । दोस्रो वर्षदेखि भने अघिल्लो वर्ष कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार गर्ने ग्राहकलाई वार्षिक शुल्क फिर्ता गरिने बैंकले जनाएको छ । यो सुविधाका लागि ग्राहकको योग्यता हरेक वर्ष मूल्यांकन हुनेछ । कुनै वर्ष न्यूनतम कारोबार पूरा नभएमा उक्त वर्ष शुल्क फिर्ताको सुविधा लागू हुने छैन । तर, अर्को वर्ष आवश्यक कारोबार पूरा गरेमा ग्राहक पुनः यो सुविधाका लागि योग्य हुनेछन् ।
त्यस्तै, सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले विशेष एनपीएल थिममा डिजाइन गरिएको डेबिट कार्ड प्राप्त गर्नेछन् । खाता खोल्ने ग्राहकलाई सुरुवाती सुविधास्वरूप पाँच सय सिद्धार्थ रिवार्ड पोइन्ट समेत प्रदान गरिने बैंकले जनाएको छ । सिद्धार्थ एनपीएल डेबिट कार्ड र सिद्धार्थ बैंकको बचत खाता दुवैको सदस्यता लिने ग्राहकले प्रारम्भिक सदस्यता लिँदा एकमुष्ट पाँच सय रुपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेजका रूपमा सेवा लिन सक्नेछन् ।
बैंकले एनपीएल बचत खातावालालाई अभियान अवधिमा विभिन्न खेल सम्बन्धी अनुभव तथा अवसरसमेत प्रदान गर्ने जनाएको छ । २०८३ असोज एक गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुने अभियानमा रिवार्ड पोइन्टका आधारमा विभिन्न पुरस्कार तथा अवसर उपलब्ध हुनेछन् । अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड पोइन्ट प्राप्त गर्ने शीर्ष २० सिद्धार्थ एनपीएल बचत खातावालाले विशेष सिद्धार्थ एनपीएल किट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै, सबैभन्दा बढी रिवार्ड पोइन्ट कमाउने एक जना ग्राहकले एनपीएलसम्बन्धी भिडियोमा फिचर हुने अवसर पाउनेछन् । त्यसैगरी, अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड पोइन्ट रिडेम्पसन ट्रान्जेक्सन पूरा गर्ने शीर्ष पाँच ग्राहकले दुई–दुई वटा एनपीएल टिकट जित्ने अवसर पाउने बैंकले जनाएको छ ।
अभियान अवधिमा सबैभन्दा उच्च रिवार्ड च्याम्पियन स्कोर हासिल गर्ने एक जना सिद्धार्थ एनपीएल बचत खातावालाले सेमिफाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रस्तुत गर्ने अवसर समेत पाउनेछन् । बैंकका अनुसार रिवार्ड च्याम्पियन स्कोर भन्नाले अभियान अवधिमा आर्जन गरिएको कुल रिवार्ड पोइन्ट र रिडिम गरिएको कुल रिवार्ड पोइन्टको योगफललाई जनाउँछ । बैंकले यी योजनामार्फत
ग्राहकलाई बैंकिङ सेवासँगै एनपीएलसँग जोडिएका विभिन्न अनुभव र अवसर प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ । योजनासम्बन्धी
थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैकले जनाएको छ ।