काठमाडौं, आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३ देखि ५ गतेसम्म एक्स्पो हुने भएको हो ।
इप्पानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पाँचौँ संस्करणको एक्स्पोको मिति घोषणा गरेको हो । इप्पान अध्यक्ष मोहन डाँगीले हरेक २ वर्षमा आयोजना हुँदै आएको एक्स्पो अब हरेक वर्ष आयोजना गरिने जानकारी दिए । सरकारको विद्युत् उत्पादनको लक्ष्यलाई निजी क्षेत्रले आफ्नो लक्ष्य मानेर जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको बताउँदै अध्यक्ष डाँगीले एक्स्पोले सरकारी लक्ष्यलाई थप प्रवद्र्धन गर्ने दाबी गरे । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ नारा दिइएको एक्स्पोमा सयभन्दा बढी प्रदर्शनी स्टल रहनेछन् । तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने उनको भनाइ छ । एक्स्पोमा सहभागिताका लागि स्टल बुकिङसमेत खुला गरिएको अध्यक्ष डाँगीले बताए ।
नेपालको ऊर्जा क्षेत्र उत्पादन क्षमता विस्तार, विद्युत् खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेका बेला एक्स्पो आयोजना गर्न लागिएको इप्पानका महासचिव टिएन आचार्यले जानकारी दिए । यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा आयोजना भएका ऊर्जा एक्स्पोको निरन्तरताका रूपमा नै यो एक्स्पो हुने उनको भनाइ छ । ‘अब एक्स्पोलाई इप्पानको स्थापना दिवससँग जोडेर हरेक वर्ष माघ ३, ४ र ५ गते आयोजना गर्ने वार्षिक ऊर्जा इभेन्टका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ,’ महासचिव आचार्यले भने । इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले इप्पानसँगको सहकार्यमा हुने एक्स्पोको अहिले अन्तर्राष्ट्रिय जगतबाट पनि चासो र खोजी हुन थालेको बताए ।
एक्स्पोमा ऊर्जा पूर्वाधारको उत्थानशीलतालाई समेत प्रमुख विषय बनाइने भएको छ । पछिल्ला वर्षमा बाढी, पहिरो तथा गेग्रान बहावका कारण विभिन्न जलविद्युत् आयोजना र ऊर्जा पूर्वाधारमा क्षति पुगेको घटनालाई ध्यानमा राख्दै सुरक्षित, दिगो र विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका विषयमा एक्स्पोमा बहस तथा अनुभव आदानप्रदान गर्न लागिएको हो । जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी तथा नवप्रवर्तनलाई एक्स्पोका प्रमुख विषयका रूपमा अघि सारिने जनाइएको छ ।
एक्स्पोलाई परम्परागत जलविद्युत् प्रदर्शनीमा सीमित नराखी ‘एकीकृत हरित ऊर्जा बजार’ को अवधारणामा अघि बढाउन लागिएको इप्पानले जनाएको छ । जलविद्युतसँगै सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिलाई एक्स्पोमा समेटिने इप्पानको भनाइ छ । प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि राखिनेछन् । एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत विभिन्न देशका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी छ ।