काठमाडौं, हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बीच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकम स्थानान्तरण) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे नेटवर्कमा आबद्ध भएको छ । अब बैंकले स्मार्टपे आईबीएफटीमार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ । यस सेवाको सञ्चालनपछि हिमालयन बैंकका ग्राहकहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका अन्य खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम स्थानान्तरण गर्न थप सुविधा पाउने अपेक्षा गरिएको छ ।
एससीटीले विकास तथा सञ्चालन गर्दै आएको स्मार्टपे आईबीएफटी रकम स्थानान्तरणसम्बन्धी डिजिटल सेवा हो । यसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट तथा रेमिट्यान्स कम्पनीहरूबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ ।
स्मार्टपे आईबीएफटीले विभिन्न वित्तीय क्षेत्रबीच अन्तरआबद्धता कायम गर्दै डिजिटल माध्यमबाट हुने कारोबारलाई सहज बनाउँदै आएको छ । हिमालयन बैंकको आबद्धतासँगै अन्तरबैंक रकम स्थानान्तरणको पहुँच थप विस्तार हुनुका साथै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन र वित्तीय पहुँच अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।