काठमाडौं, सभामुख डोलप्रसाद अर्यालले हाल जग्गा तथा आवास क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ को उद्घाटन गर्दै उनले रियल स्टेट व्यवसायीहरूको मुख्य समस्याको रूपमा रहेको हदबन्दीलगायतका विषयहरू समाधान गर्न पहल गर्ने बताएका हुन् । व्यवसायीहरूको माग सम्बोधन गर्न सरकार पनि लागिपरेको उनको भनाइ छ । ठूला व्यवसायीका मात्र नभई साना व्यवसायी र दूरदराजका नागरिकहरूको समस्या समाधानमा समेत ध्यान दिनुपर्ने उनले बताए । साथै विदेशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेशमा लगानीको वातावरण बनाउन र युवा पुस्तालाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष ई. दीपक कुँवरले सरकारले निजी क्षेत्रलाई विश्वास गरेर ऐन नियममा आवश्यक सुधार गर्नुपर्ने बताए । हालको हदबन्दी समस्या समाधान नगरिए रियल स्टेट व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्था आउने उनको भनाइ छ । उनले हालैको विनाशकारी बाढीबाट विस्थापित नागरिकहरूको पुनर्वास र भत्केका संरचना पुर्ननिर्माणका लागि रियल इस्टेट व्यवसायीहरू सरकारसँग सहकार्य गर्न तत्पर रहेको पनि बताए ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल स्टेट कम्पनीहरूलाई जग्गाको हदबन्दी छुट हुनुपर्ने, लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्याइनुपर्ने, ३ करोडसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने र यस क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिनुपर्ने नीतिगत माग राखे । एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयध्योले चार दिने प्रदर्शनीमा सयभन्दा बढी स्टलहरू रहेको जानकारी दिए ।