काठमाडौं, नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एसिया बैंकबीच होन्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार होन्डाका नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई एनआईसी एसिया बैंकले आकर्षक तथा कम ब्याजदरमा सहज फाइनान्सिङ अर्थात् सवारी कर्जा सुविधा उपलब्ध गराउनेछ । यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई नयाँ होन्डा गाडी खरिद गर्न आर्थिक रूपमा सहज वातावरण सिर्जना गर्नु रहेको स्याकार ट्रेडिङले जनाएको छ ।
कम्पनीका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको अवस्थामा ६ कार्यदिनभित्रै कर्जा प्रक्रिया पूरा गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । यसबाट होन्डाका गाडी खरिद गर्न इच्छुक ग्राहकले छिटो र सहज रूपमा सवारी कर्जा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यो फाइनान्सिङ सुविधा होन्डाका लोकप्रिय मोडलहरू होन्डा सीआर–भी, सिटी ईएचईभी, फिफ्थ जेनेरेसन सिटी र एलिभेटलगायतका गाडी खरिदमा उपलब्ध हुनेछ ।
सम्झौता पत्रमा एनआईसी एसिया बैंकका तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र हेड–मोट्र्गेज बैंकिङ एन्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होन्डा कार) का तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन् ।
दुवै संस्थाले उक्त सम्झौताले ग्राहकलाई नयाँ होन्डा कार खरिद गर्ने प्रक्रियालाई थप सरल, सहज र छिटो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, सहुलियतपूर्ण अटो लोन सुविधाले होन्डाका विभिन्न मोडल खरिद गर्न चाहने ग्राहकको वित्तीय पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ ।