काठमाडौं । निजी क्षेत्रले तराईका जिल्लामा पछिल्ला दिन बढिरहेको साम्प्रदायिक र धार्मिक तनाव अन्त्यको अपिल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कर्मसले सुनसरी जिल्लाको कप्तानगञ्जलगायतका तराईका विभिन्न जिल्लाहरूमा भएको घटनालाई लिएर चिन्ता व्यक्त गरेका हुन् । निजी क्षेत्रका तीनवटै संस्थाले सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको हुँदा मिलेर अघि बढ्न सबैलाई आग्रह गरेका छन् । साथै उक्त क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई संयमता अपानउन उनीहरूको आग्रह छ । बिहीबार तीनवटै संस्थाले विज्ञप्ति जारी गर्दै सुनसरी जिल्लाको कप्तानगञ्जलगायतका तराईका विभिन्न जिल्लाहरूमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै आपसी संवादबाट समाधान खोज्न समेत आग्रह गरेको छ ।
‘नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको छ । तराई–मधेश क्षेत्र विशेष गरी विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र हो । कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन’, विज्ञप्तिमा उल्लेख छ ।यस प्रकारका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पु¥याउने भएकाले संयमित हुनुपर्नेमा उनीहरूको जोड छ ।
‘सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो । तसर्थ, जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान केवल शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने महासंघको दृढ विश्वास रहेको छ । महासंघ सुनसरीको कप्तानगञ्जलगायतका स्थानहरूमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तथा सरकारसँग जोडदार माग गर्दछ । साथै, कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भई संयमता अपनाउन र परापूर्वकालदेखि कायम रहँदै आएको भाइचारालाई अझ मजबुत बनाउन सबैमा हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
महासंघले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको छ । तराई–मधेश क्षेत्र विशेष गरी विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेको छ । ‘विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेका अशान्त वातावरण, श्रृंखलाबद्ध घटनाहरू तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सो घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ ।
साथै घटनामा परी घाइते हुनुभएका सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ । तराईका क्षेत्रमा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गरिदिनुहुन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूसँग महासंघले हार्दिक आह्वान गरिएको छ ।
परिसंघले पनि सदियौँदेखि नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरेको छ । ‘सदियौँदेखि नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक हो । हाम्रो यो विशिष्ट पनलाई कायम राख्दै सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न परिसंघ सबैमा हार्दिक अपिल गर्दछ ।
कुनै पनि समस्या, असन्तुष्टि वा विवाद वार्ताका माध्यमबाट समाधान भएको उदाहरण प्रशस्त छन् । त्यसैले कुनै पनि समस्याको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नहुने हुँदा संयमता अपनाई आपसी सद्भाव कायम राखी मुलुकमा शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न परिसंघ सबैमा आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।परिसंघले मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेको कारण रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अतिआवश्यक रहेको अवस्थामा यस्ता घटानाले निराशा बनाउने जनाएको छ ।’ मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ । रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अतिआवश्यक रहेको अवस्थामा यस्ता घटनाले सबैलाई निराश बनाउँछ । आन्दोलनका क्रममा जनधनको क्षतिसहित सार्वजनिक एवं निजी सम्पत्तिमाथि तोडफोड, बजार, पसल बन्द गराउने तथा लुटपाटको घटनाले अत्यन्त दुखित एवं चिन्तित बनाएको हुँदा आम नागरिक तथा उद्योग व्यवसायलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन समेत परिसंघ नेपाल सरकार तथा सरोकारवाला सबैसमक्ष अनुरोध गर्दछ । साथै, मुलुकमा सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्दै सद्भाव कायम गर्न समाजका अन्य संघ संस्थाहरूसँगको सहकार्यमा सद्भाव ¥यालीलगायतका शान्ति स्थापना गर्न सहयोग गर्ने गतिविधि गर्न परिसंघका सबै प्रदेश तथा जिल्ला संघ एवं निजी क्षेत्रका अन्य संघ संस्थाहरूलाई पनि परिसंघ आग्रह गर्दछ’, विज्ञिप्तमा भनिएको छ ।
चेम्बरले मुलुक विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै सद्भाव र सहिष्णुता कायम गर्न आग्रह गरेको छ । ‘नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ । चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवद्र्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताएको छ । चेम्बरले संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकहरूलाई अपिल गरेको छ । वक्तव्यमा कुनै पनि असहमति वा मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने उल्लेख गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
चेम्बरले शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन भूमिका खेलेकाहरूको प्रशांसा गरेको छ । ‘नेपाल चेम्बर अफ कमर्सले शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, प्रतिपक्षी दल तथा समुदायका अगुवाहरूले गरिरहेका प्रयासहरूको प्रशंसा गरेको छ । साथै, सबै सम्बन्धित पक्षलाई खुला संवाद, पारदर्शिता, निष्पक्षता तथा आपसी सम्मानका आधारमा निरन्तर समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ । वक्तव्यमा धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न, सबै धर्म र समुदायप्रति सम्मानको भावना विकास गर्न तथा एकतामूलक वातावरण निर्माणमा सक्रिय योगदान दिन अनुरोध गरिएको छ । दिगो शान्ति र स्थायित्व सबैको साझा प्रयासबाट मात्र सम्भव हुने छ’, विज्ञप्तिमा भनिएको छ ।
चेम्बरले आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थिर र सुरक्षित वातावरणमा मात्र व्यवसाय, उद्योग तथा लगानी विस्तार हुन सक्ने जनाएको छ । समुदायहरूबीचको एकताले परिवार, समाज र अर्थतन्त्रलाई बलियो बनाउने विश्वास पनि चेम्बरले व्यक्त गरेको छ । चेम्बरले प्रभावित व्यवसायहरूको पुनःस्थापना, समुदायबीच सहकार्य तथा जनविश्वास पुनर्निर्माणका लागि आवश्यक सकारात्मक पहलमा साथ दिन सदैव तयार रहेको प्रतिबद्धता जनाएको छ । सरकार, स्थानीय समुदाय तथा सरोकारवालासँगको सहकार्यमार्फत निजी क्षेत्रले पुनर्निर्माण, पुनरुत्थान तथा दीर्घकालीन शान्ति र समृद्धि स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास वक्तव्यमा व्यक्त गरिएको छ । नेपाल चेम्बर अफ कमर्सले वर्तमान समय विभाजनभन्दा सहिष्णुता, टकरावभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै सबै नेपालीलाई सद्भाव, सहिष्णुता र सामाजिक एकताको गौरवशाली परम्परालाई थप सुदृढ बनाउन आह्वान गरेको छ ।
चेम्बरले सरकार, प्रतिपक्षी दल, निजी क्षेत्र, समुदायका अगुवा, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनताबीचको सहकार्य, विश्वास र एकतामार्फत प्रभावित क्षेत्रमा चाँडै नै शान्ति पूर्णरूपमा पुनःस्थापित हुने तथा ती क्षेत्र अझ एकताबद्ध, सुदृढ र समृद्ध बन्दै अघि बढ्ने विश्वास समेत व्यक्त गरेको छ । चेम्बरले उक्त घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । चेम्बरले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग समेत आग्रह गरेको छ ।