राजविराज, सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा अवाञ्छित गतिविधिका कारण शान्ति–सुरक्षामा प्रतिकूल असर पर्न सक्ने आकलन भएपछि जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।
प्रशासनका अनुसार कर्फ्यु राजविराज नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी तथा दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्म लागू हुनेछ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९)(क) बमोजिम जारी गरिएको उक्त आदेश अर्को सूचना जारी नभएसम्म कायम रहने प्रशासनले जनाएको छ।प्रशासनले कर्फ्यु अवधिमा सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकाय परिचालन गरिएको जनाएको छ।