काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले आर्थिक वर्ष २०८२÷०८३ को जेठ मसान्तभित्र नै एक खर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार २०८३ को जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसहित कुल ५४ वटा संस्थाले उक्त रकम खर्चेका हुन् । जसअनुसार उनीहरूले कर्मचारीहरूको तलब र भत्तामा ६२ अर्ब ८० करोड ६० लाख र कार्यालय व्यवस्थापनमा ३८ अर्ब ८१ करोड २० लाख रुपैयाँ समेत गरी कुल एक खर्ब एक अर्ब ६१ करोड ८० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यो खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा दुई अर्ब ७६ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकिङ क्षेत्रले कर्मचारीहरूको तलब–भत्ताको लागि ६० अर्ब २३ करोड ९० लाख र कार्यालय व्यवस्थापनको लागि ३८ अर्ब ६१ करोड ५० लाख रुपैयाँ समेत गरी कुल ९८ अर्ब ८५ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए ।
राष्ट्र बैंकका अनुसार आव २०८२÷०८३ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र कर्मचारीहरूको तलब–भत्ताको लागि ५५ अर्ब १३ करोड २० लाख र कार्यालय व्यवस्थापनको लागि ३३ अर्ब ४४ करोड रुपैयाँ समेत गरी कुल ८८ अर्ब ५७ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा दुई अर्ब १६ करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्मचारीको तलब–भत्तामा ५३ अर्ब १३ करोड ३० लाख र कार्यालय व्यवस्थापनमा ३३ अर्ब २७ करोड १० लाख रुपैयाँ समेत गरी कुल ८६ अर्ब ४० करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए । यसैगरी विकास बैंकहरूले पनि आव २०८२÷०८३ को जेठ मसान्तसम्ममा कर्मचारीहरूको तलब–भत्ताको लागि छ अर्ब छ करोड १० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा चार अर्ब ३० करोड २० लाख रुपैयाँ समेत गरी कुल १० अर्ब ३६ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् ।
यो खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा ४८ करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको तलब–भत्तामा पाँच अर्ब ६२ करोड ६० लाख र कार्यालय व्यवस्थापनमा चार अर्ब २४ करोड ९० लाख रुपैयाँ समेत गरी कुल नौ अर्ब ८७ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले पनि आव २०८२÷०८३ को जेठ मसान्तसम्ममा कर्मचारीहरूको तलब–भत्तामा एक अर्ब ६१ करोड ३० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा एक अर्ब सात करोड रुपैयाँ समेत गरी कुल दुई अर्ब ६८ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा १० करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलब–भत्ताको लागि एक अर्ब ४८ करोड र कार्यालय व्यवस्थापनको लागि एक अर्ब नौं करोड ५० लाख रुपैयाँ समेत गरी कुल दुई अर्ब ५७ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।