प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव कायम राख्न सरकार निरन्तर र योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तराई–मधेसका विभिन्न जिल्लाबाट निर्वाचित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेको उल्लेख गर्दै नागरिकलाई अफवाहमा नलाग्न, संयम अपनाउन र शान्ति कायम राख्न आग्रह गरे।
प्रधानमन्त्री शाहले सरकारको मुख्य प्राथमिकता प्रभावित नागरिकसम्म तत्काल पुग्ने, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउने र घटनाको निष्पक्ष छानबिन गर्ने रहेको बताए। उनका अनुसार शान्ति–सुरक्षा प्रभावकारी बनाउन तथा अवस्था थप जटिल हुन नदिन सरकारले बहुपक्षीय रणनीति कार्यान्वयन गरिरहेको छ भने सीमा नाकामा आवतजावतसमेत व्यवस्थित बनाइएको छ।उनले सबै सांसदलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल पुगेर नागरिक र राज्यबीच विश्वासको वातावरण निर्माण गर्न तथा सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए। आपत्कालीन अवस्थामा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा साथ दिनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको पनि उनले स्मरण गराए।
छलफलमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा ग्रहण गर्दै तत्काल आफ्नो निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाए। उनीहरूले बिहीबार राष्ट्रका नाममा प्रधानमन्त्री शाहले गरेको सम्बोधनले देशभर, विशेषगरी प्रभावित क्षेत्रमा, विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको धारणा राखे।सांसदहरूले स्थानीय तहमा दीर्घकालीन शान्ति, सामाजिक सद्भाव र भ्रातृत्व कायम राख्न समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलबीच निरन्तर संवाद आवश्यक रहेको सुझाव दिए।त्यसैगरी, तनावग्रस्त तथा आसपासका क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गर्न, साथै सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट विशेषगरी युवालाई जोगाउन जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि सांसदहरूले जोड दिए।