काठमाडौं । सरकारको चरम लापरबाहीको कारण सुनसरीको देवानगञ्जको कप्तानगञ्जबाट गत आइतबार रातिदेखि सुरु भएको हिंसात्मक प्रदर्शन तराईका विभिन्न जिल्लामा फैलिएको छ । कोशीको सुनसरीबाट सुरु भएको प्रदर्शनले मधेस प्रदेशका अधिकांश जिल्लामा बढी त्रास बढाएको छ । मधेसका अधिकांश जिल्लामा प्रर्दशन र आगलागीजस्ता घटना सुरु भएको कारण स्थानीय प्रशासन बल प्रयोगको आदेश लिने अवस्थामा पुगेको छ । आइतबार राति एक जनानको घटनास्थलमै मृत्यु हुनेगरी भएको प्रदर्शनपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङले जिम्मेवार भएर कदम चालेको भए उक्त प्रदर्शनले विभिन्न जिल्लामा उग्र रूप लिने थिएन ।
दुई तिहाइ सिटको अमहम्ता लिएर प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनले सुनसरीको उक्त घटनालाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगाएर पेलेरै लैजाने बालहठ देखाए । उनीहरूले आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत बेवास्ता गरी बल प्रयोगलाई नै प्राथमिकता दिँदै आए । सोही कारण बुधबार आफ्नै पार्टी सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरे । सो सर्वदलीय बैठकले गरेका निर्णयलाई बुधबारको मन्त्रिपरिषद् बैठकले कुनै वास्ता गरेन । यसले विहीबार प्रदर्शन थप उग्र बनाइदियो ।
प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनको बल प्रयोगको नीति फेल हुँदै गएर बिहीबार तराईका अधिकांश जिल्लाहरूमा अवस्था असहज बन्दै गयो । मेचीदेखि सुदूरपश्चिमसम्मका तराईका जिल्लाहरूमा त्रास बढ्न थाल्यो । विभिन्न जिल्लामा सर्वदलीय बैठक र शान्तिको आह्वान भएको छ ।
सिरहामा गोली चलेर अवस्था तनावपूर्ण हुँदै व्यक्तिका घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड र लुटपाट हुन थालेपछि बिहीबार साँझ मात्र प्रधानमन्त्री बालेनले सम्बोधन गर्दै सबैको साथ र सहयोग खोजे भने गृहमन्त्री सुधनलाई सुनसरी पठाए । उक्त साथ र सहयोग खोज्ने प्रधानमन्त्रीको याचना समय घर्किएपछि आएको छ । स्थिति तनावग्रस्त हुँदै तराईका विभिन्न जिल्लामा फैलिन थालेपछि बिहीबार साँझ प्रधानमन्त्री बालेन शाहले देशवासीको नाममा सम्बोधन गरे पनि तराईका अधिकांश जिल्लाहरू अशान्त छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायतका स्थानमा भएका दुःखद घटना र त्यसपछि अन्य जिल्लामा उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी गराएका छन् ।
प्रधानमन्त्रीले जति सहानुभूति व्यक्त गरे पनि प्रदर्शन उग्र बन्नुमा प्रधानमन्त्री र गृहमन्त्रीको लाचारीपन प्रमुख कारकको रूपमा देखा परेको छ । सुरुकै दिनदेखि सर्वदलीय सहयोगमार्फत स्थितिलाई शान्त पार्नुपर्नेमा बल प्रयोगको बालहठले धार्मिक तथा साम्प्रदायिक हिंसा बढ्न थालेपछि सबैको साथ र सहयोग खोज्नुले सरकार चलाउन बालेन र सुधन असफल भएको देखाएको छ । प्रहरीले गोली चलाएको कारण दोषी भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गत चैतमा पक्राउ गर्ने बालेन र सुधनको योजना आफूमाथि के हुने भन्ने प्रश्न उठेको छ । बालेन र सुधनले लापरबाही गरेर बल प्रयोगको नीति लिँदा प्रदर्शनमा प्रहरीको गोली लागेर बिहीबारसम्म तीन जनाको ज्यान गइसकेको छ । प्रहरीको गोली लागेर तीन जनाको ज्यान जानु र दर्जनौँ व्यक्ति घाइते भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले कसरी गोली चल्यो भनेर खोजी गर्नुले सत्ता सञ्चालनमा उनीहरू असफल देखिन्छ ।
गत भदौ २३ र २४ गतेको घटनामा पनि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले कसरी र कसको आदेशमा प्रहरीले गोली चलायो आफूहरूलाई थाहा नभएको बताएका थिए । उस्तै प्रकृतिको आन्दोलनमा ओली र लेखक दोषी हुने तर बालेन र सुधन दोषी नहुने भन्ने अवस्था आउन सक्तैन । प्रधानमन्त्री शाहले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यस्तै श्रद्धाञ्जलि गत वर्ष तत्कालीन प्रधानमन्त्री ओली र लेखकले पनि दिएका थिए । तर, उनीहरूलाई तिमीहरू नै दोषी हौ भन्दै प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङले सरकार गठन गरेकै पहिलो रात गत चैत १३ गते पक्राउ गरेका थिए ।
आइतबार रातिदेखि सुरु भएको घटनामा सत्ता परिवर्तनपछि बालेन र सुधन पक्राउको सूचीमा दर्ज भए पनि बिहीबार सम्बोधनको क्रममा प्रधानमन्त्री बालेनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य निकायहरूलाई निर्देशन दिइएका छन् । ‘घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ, दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छ’, उनले भनेका छन् । तर, उनहरूको निष्पक्षतामा सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी आवश्यक निर्णयहरू भइसकेको प्रधानमन्त्रीले बताएका छन् । यसले पनि सरकार संगठित रूपमा बल प्रयोगको पक्षमा दृढ रहेको देखाएको छ । तर, तराईमा बलको साथसाथै सबैभन्दा प्राथमिकता सर्वदलीय र सर्वपक्षीय सहमतिलाई दिनुपर्ने देखिन्छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत असत्य, अपुष्ट सूचना र घृणा फैलाउने सामग्रीहरू सम्प्रेषण नगर्न सचेत गराएका छन् । तर, बल प्रयोगको नीति लिएर सरकारविरुद्ध नागरिक उकास्ने काम सरकारले नै गरेको छ । यस्ता धार्मिक तथा साम्प्रदायिक घटनामा सरकारले बल प्रयोगभन्दा राजनीतिक वार्तालाई उच्च प्राथमिकता दिनुपर्नेमा बिहीबारसम्म त्यस्तो गर्न नै सकेन । सरकारको आह्वानमा बिहीबारसम्म पनि सर्वदलीय बैठक हुन सकेको छैन ।
‘बल प्रयोग नगर्न सुरुदेखि नै सुरक्षा निकायका प्रमुखहरूले सुझाव दिएका थिए’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘बल प्रयोगले अवस्था सरकारको नियन्त्रणभन्दा बाहिर गएपछि अहिले हारगुहार गरेर मात्र हुँदैन । सबै दललाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ ।’
सरकारले सबै राजनीतिक दलहरूलाई सहयोग गर्न आग्रह नगरे पनि बुधबारदेखि नै राजनीतिक दलहरूले सद्भाव नबिथोल्न आफ्ना राजनीतिक नेता, कार्यकर्ता र समर्थकलाई आग्रह गर्दै आएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सद्भाव नबिथोल्न बिहीबार नै विज्ञप्ति जारी गरी आग्रह गरेका थिए । रास्वपाले आफ्ना सांसदहरूलाई तराई झर्न आग्रह गरे पनि बिहीबारसम्म अधिकांश सांसदहरू तराई जान नै सकेका छैनन् ।
सदियौँ पुरानो भाइचारा खल्बल्याउने तत्वहरूविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा दिएका छन् । उनले नेपाली र मैथली भाषामा सम्बोधन गरेर आफू तराईवासी भएको सन्देश दिन खोजेका छन् । उनले नागरिक समाज, धार्मिक अगुवा र राजनीतिक दलहरूलाई धैर्यता अपनाउन आग्रह गरे । सुरुदेखि नै बालेन पुराना राजनीतिक दलप्रति असहिष्णु बन्दै आएका पात्र हुन् । त्यही पात्रले बुधबारको सर्वदलीय बैठक बहिष्कार गरेर बिहीबार दलहरूलाई धैर्यता गर्न आग्रह गर्नुलाई धेरैले पत्याउन सकेका छैनन् ।
प्रधानमन्त्री बालेनले सम्बेधनको क्रममा भनेका छन्, ‘आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।’ तर प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन अन्य राजनीतिक दलसँग मिल्नै नसक्ने पात्रका रूपमा नेपाली राजनीति र समाजमा परिचित पात्रका रूपमा छवि बनाएका छन् । प्रधानमन्त्री बालेनले राष्ट्रपतिबाट पनि सहयोग खोजेका छन् । तर तराईमा आगो लागेपछि मात्र राष्ट्रपति कहाँ पुगेका छन् । प्रधानमन्त्री बालेन राष्ट्रपति रामचन्द्र पौडेललाई सधैँ अवज्ञा गर्दै आएका नेता हुन् । तर, अवस्था आफूले मात्र नियन्त्रणमा लिन नसक्ने भएपछि बिहीबार राष्ट्रपति निवास नै पुगेका छन् । तर, तराईमा गत वर्षको भदौमा काठमाडौंमा लागेको जस्तै आगो लागिसकेको छ । यो अवस्था आउनुमा सरकारको पूर्ण दोष देखिएको छ । अशान्त वातावरण शान्त पार्न राष्ट्रपतिको सहयोग रहने आश्वासन राष्ट्रपतिबाट प्रधानमन्त्रीले पाएको स्रोतको दाबी छ ।