काठमाडौं, एनआईसी एसिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश करसहित ५० प्रतिशत रहेको छ ।
क्यापिटलको सञ्चालक समितिको एक सय ७४औं बैठकले क्यापिटलको १०औं वार्षिक साधारणसभा आगामी भदौ २६ गते, शुक्रबार अर्थात् सेप्टेम्बर ११, २०२६ मा आयोजना गर्ने निर्णय गरेको छ । सभा बिहान ९ बजे क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा हुनेछ । सभामा आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्तावसहित सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ । त्यसैगरी, सभामा आर्थिक वर्ष २०८२/०८३ का अन्य प्रस्तावहरूमाथि समेत छलफल गरी निर्णय गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले पछिल्लो समय आफ्ना सेवाहरूलाई थप सर्वसुलभ, सहज र प्रविधिमैत्री बनाउँदै लगेको जनाएको छ । ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मूल नाराका साथ अघि बढिरहेको क्यापिटलले आर्थिक वर्ष २०८२/०८३को अन्त्यसम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था गर्न सफल भएको जनाएको छ । प्रविधिको प्रयोगमार्फत ग्राहकलाई घरमै बसेर सेवा लिन सक्ने वातावरण निर्माण गर्ने उद्देश्यअनुरूप डिजिटल सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आएको क्यापिटलले जनाएको छ ।