काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) २०२६को आटीटी (ओभर द टप) डिजिटल प्रसारण अधिकार नेटटीभीले पाएको छ । नेपाल क्रिकेट संघ क्यानले एनपीएल तेस्रो संस्करणको लागि मिडिया तथा टिकेटिङ अधिकारसम्बन्धी आह्वान गरेको बोलपत्र खरिदमा नेटटीभीले आटीटी (ओभर द टप) डिजिटल प्रसारण अधिकार खरिद गरेको हो । नेट टिभीले सबैभन्दा बढी १८ करोड चार लाख रुपैयाँमा डिजिटल राइड्स प्राप्त गरेको छ ।
यससँगै नेपाली क्रिकेटलाई डिजिटल माध्यमबाट अझ ठूलो दर्शकसमक्ष पुर्याउने अवसर नेटटीभीले पाएको छ । नेट टिभिले नेपाली क्रिकेटको विकास, व्यावसायिक विस्तार र डिजिटल पहुँच अभिवृद्धिमा योगदान पु¥याउने उद्देश्यका साथ एनपीएल २०२६ को प्रसारणलाई प्रविधिमैत्री, सहज र उच्च गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ । एनपीएललाई नेपालमा मात्र सीमित नराखी डिजिटल माध्यमबाट विश्वभर रहेका नेपाली तथा क्रिकेटप्रेमी दर्शकसम्म पुर्याउने लक्ष्य लिएको नेटटीभीले जनाएको छ ।
यस्तै एनपीएलको लिनियर टेलिभिजन अधिकार हिमालयण टेलिभिजन नेटवर्क प्रालिले पाएको छ । कम्पनीले १४ करोड ६४ लाख रुपैयाँमा नेपालभित्र एनपीएल प्रशारण गर्नेगरी टेलिभिजन राइड्स खरिद गरेको हो । एनपीएलको टिकेटिङ पार्टनर भने ईसेवा लिमिटेड बनेको छ । ईसेवाले ८५ लाख रुपैयाँमा टिकेटिङ अधिकार खरिद गरेको हो । ईसेवाले टिकटिङबाट प्राप्त हुने आम्दानीको ५ प्रतिशत आफूले राखेर ९५ प्रतिशत रकम क्यानलाई बुझाउनुपर्नेछ ।
नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको सबैभन्दा चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका रूपमा स्थापित हुँदै आएको छ । प्रतियोगिताको बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोकप्रियता र डिजिटल प्लेटफर्ममार्फत खेलकुद सामग्री हेर्ने दर्शकको बढ्दो प्रवृत्तिलाई ध्यानमा राखेर डिजिटल प्रसारणलाई थप व्यापक र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।