एक अध्ययनअनुसार पृथ्वीको कुल भूमिमध्ये २६ प्रतिशत खाली मैदान तथा चरण क्षेत्र, २० प्रतिशत वनजङ्गल, र ३३ प्रतिशत अन्य क्षेत्रको रूपमा रहेको छ । यहाँ उपलब्ध भूमिमध्ये ९ प्रतिशत सहरी क्षेत्रअन्तर्गत पर्छ भने २१ प्रतिशत कृषि बाली उत्पादन, चरिचरण र वनजङ्गल संरक्षणका लागि अनुपयुक्त क्षेत्र साबित भएको छ । यसको प्रमुख कारण उक्त क्षेत्र ज्यादै भिरालो, ज्यादै चिसो र ज्यादै सुक्खा हुनाले हो ।
पृथ्वीको कुल १३ अर्ब हेक्टर भूमिमध्ये ११ प्रतिशत मात्र खेतीयोग्य छ । जसमध्ये १७ प्रतिशत मात्रमा सिचाइ सुविधा भएकोले प्रत्येक वर्ष तीव्र रूपमा बढिरहेको जनसंख्यालाई आवश्यक खाद्य पदार्थहरूको माग पूर्ति गर्न झन्झन् कठिन हुँदै गएको छ । यति मात्र नभई यहाँ प्रत्येक वर्ष बढ्दै गएको बाढी पहिरो र भूक्षयको कारण खेतीयोग्य भूमिको विनाश भइरहेकोले कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको छ ।
यथार्थतः प्रत्येक देशको भौगोलिक वास्तविकतालाई आधार मानी भूमिको उपयोग गरेमा जो कोहीले पनि कृषि उत्पादन बढाउन सक्छ । तर यसको लागि भूस्वरूपको संरक्षण आवश्यकता छ ।
साधारणतः भूस्वरूप भन्नाले कुनै पनि स्थानको विहङ्गम आकृति भन्ने बोध हुन्छ । सो जीवनको त्यो फराकिलो भूभाग हो जुन प्राकृतिक वा सांस्कृतिक प्रक्रियाबाट विविध आकार तथा लक्षणले छुट्टिन्छ । तर, धेरै व्यक्ति यस सम्बन्धमा आजसम्म पनि अनभिज्ञ छन् ।
वस्तुतः भूस्वरूपको बारेमा विभिन्न समुदायको दृष्टिकोण फरक हुन सक्छ । यति मात्र नभई काष्ठ उद्योगमा संलग्न समुदाय तथा ग्रामीण जनताको दृष्टिकोणमा यसको व्यवस्थापन समान नहुन पनि सक्छ ।
साधारणतया भूस्वरूपको क्षेत्रफल एक किलोमिटर र त्यसभन्दा बढी हुन्छ । यसको संरक्षण गर्न सकेमा जैविक विविधताको सुरक्षा तथा अन्य उद्देश्यहरूसमेत परिपूर्ति गर्न सकिन्छ । अतः यसको संरक्षण गर्दा वंशाणुगत विविधता, प्रजाति विविधता र पारिस्थितिक प्रणालीको विविधताको सुरक्षामा ध्यान दिन उचित देखिन्छ ।
वंशाणुगत विविधताले भूस्वरूप संरक्षणमा धेरै नै प्रभाव पार्छ । तर, यो कुरा धेरैजसो व्यक्तिलाई थाहा छैन । यो प्रत्येक देशमा फरक–फरक हुन्छ । त्यसैले यसको संरक्षणको लागि बेग्लै तरिका अपनाउनुपर्छ ।
प्रजाति विविधता भूस्वरूपको अभिन्न स्रोत हो । यो विभिन्न देशमा फरक देखिन्छ । तसर्थ यसको संरक्षणको लागि पनि विभिन्न देशमा विभिन्न किसिमका तौरतरिका अपनाउन वाञ्छनीय हुन्छ । यसो गर्न सकेमा मात्र भविष्यमा भूस्वरूप संरक्षणको लागि महत्वपूर्ण भूमिका खेल्न सकिन्छ ।
नेपालमा प्रजाति विविधता उच्च छ । यहाँ विश्वको ९.३ प्रतिशत (८४४) वटा प्रजाति, ५.१ प्रतिशत (आठ सय ५३) झ्याउ–काई प्रजाति, ५.१ प्रतिशत (२८) अनावृत्तजीवी प्रजाति, ४.५ प्रतिशत (१ सय ८१.९३) पुतली तथा पतङ्ग प्रजाति, ३.४ प्रतिशत (३ सय ८) उन्यू प्रजाति, २.७ प्रतिशत (५ हजार ८ सय ५६) सुपुस्पक प्रजाति र २.६ प्रतिशत (६ सय ८७) लेउ प्रजाति छन् ।
एउटा उपयोगी भूस्वरूपमा विभिन्न भूप्रयोग प्रणालीको आवश्यकता पर्छ जसमध्ये परिस्थितिक प्रणाली पनि एक हो । वास्तवमा भूस्वरूपअन्तर्गत विभिन्न पारिस्थितिक प्रणाली हुन्छन् जसले विभिन्न वस्तु तथा सेवा प्रदान गर्दै आएका छन् । यिनीहरूको परिणाम तथा गुणले पनि भूस्वरूपको संरक्षणमा असर पार्छ ।
यस धरतीमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरू छन् । जसमध्ये भूमिलाई महत्वपूर्ण मानिन्छ । जुन सीमित प्रकृति प्रदत्त उपहार हो । मानव जातिको प्रमुख सम्पत्तिको रूपमा रहेको भूमिमा बसोबासदेखि विभिन्न व्यवसायसम्म सञ्चालन गरिन्छ । जसमध्ये खेतीपातीको विशेष महत्व छ ।
पृथ्वीको कुल १३ अर्ब हेक्टर भूमिमध्ये ११ प्रतिशत मात्र खेतीयोग्य छ । जसमध्ये १७ प्रतिशत मात्र सिञ्चित हुनाले खेतीपातीको लागि विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
विश्वमा विद्यमान धरातलअनुसार खेतीयोग्य भूमिको अधिकता, केही वनजङ्गल तथा झाडी, केही मरुभूमि आदि पाइन्छ । तसर्थ, भौगोलिक वास्तविकउतालाई आधार मानेर भूमिको प्रयोग गर्न सकेमात्र यसबाट निरन्तर रूपमा फाइदा लिन सकिन्छ । तर, यसको लागि भूस्वरूपको संरक्षणको नितान्त आवश्यक छ ।
विभिन्न देशमा विकासको नाममा वातावरण विनाश भइरहेको छ । बढ्दो डोजर आतंक, वनजङ्गल फडानी, डढेलो, अव्यवस्थित तरिकाले विकास निर्माण कार्य सञ्चालन, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँ तथा फोहर उत्सर्जन, कार्बनडाइअक्साइड उत्सर्जन, बढ्दो यातायातका साधन तथा रेफ्रिजरेटरको प्रयोगले विश्वमा धुवाँ र ताप बढिरहेको छ । विश्वमा हरितगृह ग्यास उत्सर्जनको असर बढेकोले ओजोन तहमा प्वाल परेर तापक्रम बढेको छ । यति मात्र नभई सबैजसो देशमा जलवायु परिवर्तन भएको छ । जुन समस्या एवं चुनौतीको रूपमा रहेका छन् ।
आज विश्वको धेरै देशको भौतिक, सामाजिक, आर्थिक, नैतिक तथा पर्यावरणको विनाश निरन्तर रूपले भइरहेको छ । निहित स्वार्थका लागि वातावरणको सुरक्षा गर्न नसक्दा विनाश दिन प्रतिदिन बढिरहेको छ । जसको कारण सम्पूर्ण मानव जाति र जीवित प्राणीमा नकारात्मक प्रभाव परेको छ ।
वास्तवमा प्रत्येक व्यक्तिको सुस्वास्थ्य तथा पर्यावरण संरक्षणको लागि बोट विरुवाहरूको महत्वपूर्ण योगदान हुन्छ । एउटा वयस्क रुखबाट अक्सिजन उत्पादन मात्र पनि वार्षिक एक सय तीन लिटर सम्म हुन्छ । योबाहेक एउटा रुखले वायुमण्डलमा वार्षिक औशत २२ के.जी. कार्बनडाइअक्साइड ग्यास अवशोषण गर्छ । यसबाट निःसन्देह प्रत्येक व्यक्तिको श्वासप्रश्वासमा सकारात्मक प्रभाव पार्छ र दीर्घायुमा धेरै नै सघाउ पुर्याउँछ ।
एउटा परिपक्व रुखले ५० वर्षमा फल तथा सौन्दर्यबाहेक अक्सिजन उत्सर्जन, वायु प्रदूषण न्यूनीकरण, बाढीपहिरो न्यूनीकरण, माटोको उर्वराशक्ति वृद्धि, जलीय चक्र प्रवाहमा सघाउलगायत पशुपंक्षीहरूलाई बासस्थान प्रदान गरेबापत औसत ६ सय ७१ करोड रूपैयाँ बराबरको पारिस्थितिक सेवा प्रदान गर्छ । साथै, एउटा परिपक्व रुखको पारिस्थितिक सेवा काठ र दाउराको भन्दा ३ सय ४५ गुणा बढी हुने कुरा एक अनुसन्धानले पुष्टि गरेको छ । परन्तु, यो कुरा धेरै व्यक्तिलाई थाहा नहुँदा धेरैजसो देशमा रुख काट्ने काम रोकिएको छैन । यसबाट सम्पूर्ण मानव जातिमा नै नकारात्मक प्रभाव पर्छ ।
धरातलीय स्वरूप तथा हावापानीको विभिन्नताको कारण धेरै देशको पारिस्थितिक प्रणाली, बासस्थान, वनस्पति तथा प्राणी प्रजातिको विविधता फरक देखिन्छ । पारिस्थितिक प्रणालीको विविधताको सन्दर्भमा नेपालमा उष्ण प्रदेशीय हावापानीदेखि हिमाली क्षेत्रीय हावापानीसम्म पाइन्छ र त्यसलाई दश प्रकारको जीव जलवायु क्षेत्रमा बाँडिएको छ । यहाँ जम्मा १ सय १८ प्रकारका पारिस्थितिक प्रणाली, ७५ किसिमको वनस्पति क्षेत्र र ३५ प्रकारको वनजंगलको पहिचान गरिएको छ । जसको संरक्षण गर्न सकिएमा भविष्यमा धेरै फाइदा प्राप्त गर्न सकिन्छ ।
नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हिमाली प्रदेश, ६८ प्रतिशत पहाडी प्रदेश र १७ प्रतिशत तराई प्रदेशले ओगटेको छ । यसैगरी, भूउपयोगको दृष्टिकोणले वनजंगल २९ प्रतिशत, झाडीबुट्यान १०.६ प्रतिशत, घाँसे मैदान १२ प्रतिशत, खेती गरिएको जग्गा ७ प्रतिशत र अन्य जग्गा १७.८ प्रतिशत छ । जसको संरक्षणको लागि सदुपयोगको आवश्यकता छ ।
साधारणतः मानव, पशुपंक्षी, खोलानाला, प्राकृतिक सम्पदा र जलवायुको संयोजनबाट वातावरणको सिर्जना हुन्छ । जुन सन्तुलन वा असन्तुलन गर्ने काम मानवबाट हुन्छ ।
मूलतः समृद्ध जीवन यापनका लागि आर्थिक तथा भौतिक विकास गर्नुपर्छ । जुन मानविय विकासको शाश्वत नियम हो । परन्तु, हाल विश्वका धेरैजसो देशमा भइरहेको सहरीकरण, उद्योगहरूको स्थापना र विज्ञानको चमत्कारको कारण यहाँको प्राकृतिक वातावरण दिनदिनै प्रदूषित भइरहेको छ । परिणामस्वरूप, अथाह प्राकृतिक सम्पदाहरू भएका विकसित मुलुकहरूमा वातावरणीय विनाश तीव्र रूपले हुन थालेको छ भने विकासशील तथा अति कम विकसित राष्ट्रहरूमा उक्त सम्पदाहरूको सही परिचालन नभई विनाश भइरहेको छ ।
आज विश्वभर विकास कार्यहरू सञ्चालन भइरहेका छन् । यसकै आधारमा यी देशहरूलाई विकसित, विकासशील र अविकसित मानिन्छ ।
यी देशहरूमा विकासको क्रममा बाटोघाटो निर्माणको लागि डोजरको प्रयोग, वनजङ्गल फडानी आदि कामहरू अव्यवस्थित रूपमा भइरहेका छन् । यी देशहरूमा अवस्थित विभिन्न उद्योग तथा कलकारखानाहरूबाट धुवाँ, कार्वनडाइअक्साइड र कार्बनमोनोअक्साइड जस्ता विषालु ग्यास तीव्र रूपले निस्किरहेका छन् ।
साथै, यी देशहरूमा विद्युत्, डिजल र पेट्रोलबाट चल्ने यातायातका साधनहरूको बढ्दो प्रयोगबाट धुवा र ताप तीव्र रूपले उत्सर्जन भइरहेको छ । यति मात्र नभई यी देशहरूमा एकतर्फ हरित उत्सर्जनको नकारात्मक प्रभाव बढिरहेको छ भने अर्कोतर्फ ओजोन तहमा प्वाल परी सूर्यको परावैजनी किरण प्रवेश गर्नाले वातावरण विनाश भइरहेको छ ।
आज वातावरणीय विनाश विश्वकै लागि ठूलो चुनौतीको रूपमा देखापरेको छ । यस्तो विनाशको न्यूनीकरणको लागि भूस्वरूप संरक्षणले महत्वपूर्ण भूमिका खेल्छ ।
मानव जातिको अस्तित्वको लागि भूस्वरूपको नितान्त आवश्यक छ । तर, वर्तमान परिवेशमा विभिन्न मानवीय आवश्यकता परिपूति गर्न भूस्वरूपको कस्ता लक्षण हुनुपर्छ, यसबाट पशुपंक्षीलाई कस्ता तत्वको आवश्यकता पर्छ सो को अध्ययन अनुसन्धान गरी व्यवहारमा उर्तान आवश्यक छ । यसो गर्न सकेमा भूस्वरूपको संरक्षणमा टेवा पुग्नेछ र सम्पूर्ण मानव जातिको कल्याण हुने कुरामा दुईमत नहोला ।
विगतमा नेपालको प्रमुख आयस्रोत कृषि पेशा हाल धरासायी हुने अवस्थामा छ । युवाहरूको बढ्दो विदेश पलायन, कृषकहरूलाई उत्साहित बनाउने किसिमका योजना निर्माण गरी कार्यान्वयन गर्न नसक्नु र विकट भूबनोटको कारण यहाँ यस्तो अवस्था सिर्जना भएको हो ।
वर्तमानमा नेपालमा कृषि उत्पादन वृद्धि गरी गरिबी न्यूनीकरण र कुल गार्हस्थ्य उत्पादन बढाउनु पर्ने धेरै आवश्यकता छ । परन्तु, यहाँको सीमित खेतीयोग्य भूमिको सदुपयोग गर्न नसकिएकोले उक्त आवश्यकता परिपूर्ति गर्न कठिन भएको छ । आज जलवायु परिवर्तनको कारण विश्वका अन्य देशहरू जस्तै नेपालमा पनि विभिन्न बालीहरू उत्पादन गर्न सकिने प्रकृतिको क्षमतामा ह्रास आएको छ । फलतः नेपाललगायत विश्वका धेरै देशमा कृषि उत्पादन घट्दो क्रममा छ ।
वस्तुतः कृषिप्रधान देश नेपालमा कृषि व्यवसाय प्रत्येक व्यक्तिको जीविकोपार्जनको एक भरपर्दो माध्यम हुनुपर्नेमा हाल यस प्रति धेरैको वितृष्णा बढिरहेको छ । त्यसैले हाल यस व्यवसाय परित्याग गरी अन्य व्यवसायहरूमा संलग्न हुने व्यक्तिहरूको संख्या दिनदिनै बढिरहेको छ । तर, कृषि विकासविना यहाँको चौतर्फी विकास सम्भव छैन । यसको लागि भूस्वरूप संरक्षणको नितान्त आवश्यकता भएकोले सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन जरुरी छ ।