काठमाडौं, नेपाल आयल निगमले देशभर खाना पकाउने (एलपी) ग्यासको कमी नभएको र आयात पर्याप्त भएको दाबी गर्दै आए पनि शनिबार काठमाडौं उपत्यकामा देखिएको लाइनले स्पष्ट पारेको छ, प्रत्येक घरघरमा ग्यासको चरम अभाव छ ।
मध्यपूर्वको देश इरानमा अमेरिका र इजरायलले आक्रमण गर्न थालेपछि विश्वभर पेट्रोलियम पदार्थको आपूर्तिमा उतारचढाव सुरु भयो । संसारभर ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो । नेपालमा पनि मूल्य वृद्धि भयो । खाना पकाउने ग्यासको अभाव हुने डरले सरकारले २०८२ साल फागुनको अन्तिम सातादेखि तत्काल आधा सिलिन्डर ग्यास बिक्री सुरु गर्यो ।
युद्धको कारण अभाव हुन्छ भनेर सबै उपभोक्ताले त्यही आधा सिलिन्डर ग्यास पनि घरमा ल्याए । सबैको घर–घरमा आधा सिलिन्डरको ग्यास जम्मा भयो । तर, सरकारले पूर्वघोषणा नगरी फेरि भरी सिलिन्डर ग्यास वितरण थाल्यो । तर, बजारमा अभाव देखियो । के आम नागरिकले आफ्नो घरमा भएको दुईवटा आधा सिलिन्डर ग्यास एउटैमा खन्याएर खाली भएको सिलिन्डर लिएर बजारमा आएका हुन् त ? त्यो पक्का पनि होइन । किनकि प्राविधिकविना त्यसरी एउटा सिलिन्डरको ग्यास अर्कोमा आम उपभोक्ताले खन्याउने सम्भावना नै छैन ।
तर, पनि बजारमा ग्यासको चरम अभाव छ । शनिबार झरीमा रुझेर लाइनमा बसे पनि उपभोक्ताले ग्यास पाउन सकेनन् । कयौँ उपभोक्ता ग्यास नपाएर रित्तै हात घर फर्किए । सरकारमा बसेकाहरू मौन छन् । आपूर्ति व्यवस्था अस्तव्यस्त छ तर फेसबुकमा स्टाटस लेखेर उदण्ड मच्चाउने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ग्यासको अभावमा मौन छन् । सरकारले ग्यास पर्याप्त छ भने पनि उपभोक्ता दिनभर लाइनमा बस्दा पनि ग्यास पाउन सक्ने अवस्थामा छैनन् ।
ग्यास लिन लागेको लाइनलाई नै कयौँले रास्वपाको सरकारको पालामा रोजगारी पाएको भनेर व्यङ्ग्य गरिरहेका छन् । तर, सरकार मौन छ । आयल निगमले ग्यास उपलब्ध गराउन सकिरहेको छैन । यसको खास कारण भने केही महिनादेखि नै सरकारले कम–कम ग्यास वितरण गरेको कारण भएको आयल निगमकै अधिकारीहरू बताउँछन् । ‘पहिलो आधा सिलिन्डर ग्यास पनि पर्याप्त वितरण भएको थिएन’, आयल निगमका एक अधिकारीले भने, ‘अहिले उपभोक्ताले खाली भएको सिलिन्डर ल्याउँदा कुनै पनि ग्यास प्लान्टले पर्याप्त ग्यास नभएको कारण रिफिल (भर्न) गर्न नसकेकै हुन् । रिफिल गर्न समय लागेर होइन पर्याप्त ग्यास नभएको कारण थोरै सिलिन्डर मात्र रिफिल भएका हुन् ।’
अहिले ग्यासको अभावमा सर्वसाधारण मात्र होइन रास्वपाकै नेताहरू पनि भौैतारिएका छन् । पुरानो सत्ताले सबै बिगार्यो, हामी सबै सपार्छौँ भन्नेहरू पनि अहिले मुखमा मास्क लगाएर ग्यासको लाइनमा दौडिन थालेका छन् । संसद्बाट केही दिन अगाडि रास्वपाकै सांसदहरूले मन्त्रीको घरमा ग्यासको अभाव छ कि छैन ? भनेर प्रश्न गरेका थिए । पहिला एक/दुई दिन त पुरानो सत्ताका कार्यकर्ताहरूले सरकारलाई बद्नाम गराउन सिलिन्डर बोकेर बाहिर आएको समेत आरोप लगाएका थिए । जब बजारमा हाहाकार मच्चिन थाल्यो तब शुक्रबार साँझ नेपाल आयल निगमले सूचना जारी गरेर शनिबार काठमाडौंका थप ५ ठाउँबाट विभिन्न ब्रान्डका ग्यास बिक्री–वितरणको व्यवस्था मिलाउने भन्यो । त्यो सूचना आएपछि शनिबार बिहानैदेखि उपभोक्ताको लाइन लाग्यो तर ग्यास मागअनुसार आपूर्ति हुनै सकेन । यसले आम उपभोक्तामा थप त्रास उत्पन्न गराएको छ अब ग्यास नै नपाउने हो कि भन्ने ।
शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री हुने थाहा पाएपछि तोकिएका ठाउँमा उपभोक्ता लामबद्ध भएका थिए । आम उपभोक्ता हातमा राष्ट्रिय परिचयपत्र र नागरिकता बोकेर एक थान ग्यासका पाउनका लागि दिनभरि पानीमा भिजेर लाइन लागे तर अधिकांशले पाएनन् । यो अभाव एक–डेढ महिनादेखि नै सुरु भएको थियो । तर, धेरैले रास्वपालाई मतदान गरेको कारण उनीहरू लाज मानीमानी घरमा पीडा लुकाएर बसे । तर, ग्यास पाउनै नसकेपछि उनीहरू बाध्य भएर बाहिर आए र त्यो अभाव विष्फोटजस्तै भएको छ ।
खाना पकाउने ग्यासको समेत आपूर्ति गर्न नसक्ने सरकारले रोजगारी र सुशासन दिनेमा अब भने नागरिक आशावादी हुन छाडेका छन् । रास्वपाको सरकार बनेपछि विदेशमा गएकाहरू रोजगारीका लागि स्वदेशमै फर्कने भाषण पनि अहिले व्यङ्ग्यकै रूपमा सरकारमाथि प्रयोग हुन थालेको छ । सामान्य कुरामा पनि सरकारको व्यवस्थापन कमजोर हुनथालेपछि जताततै निराशा बढ्न थालेको छ । यसले युवापंक्तिप्रतिको आशा र भरोसामा कमी आउन थालेको देखिन्छ ।
शनिबार ग्यास दिन नसकेको सरकारले आइतबार पनि काठमाडौंका ७ ठाउँबाट ग्यास वितरण गर्ने भनेर अर्को सूचना जारी गरिसकेको छ । आयल निगमले शनिबार दिनभरिमा छ हजार आठ सय दुईवटा सिलिन्डर ग्यास बेचेको तथ्यांक सार्वजनिक गरेको छ । यसले देखाउँछ उपभोक्ताहरू लामो समयदेखि ग्यासको अभावमा छन् तर आफैँले छानेको सरकारको लाज छेक्न मात्र उनीहरू रित्तो सिलिन्डर लिएर बाहिर नआएका रहेछन् । तब चरम अभाव भयो तब मात्र उनीहरू बाहिर आएको देखिएको छ । साउनको २९ दिनमा भारतबाट दुई हजार सात सय ८१ बुलेट ग्यास आयात भएको छ । तर लामो समयदेखिको अभावको कारण ग्यास बिक्री धेरै बढेको कारण उद्योगहरूले आपूर्ति गर्न नसकेका हुन् । सामान्य अवस्थामा दैनिक एक लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा यो २८ दिनमा औसतमा एक लाख ३२ हजार सिलिन्डर वितरण भइरहेको बताइएको छ । सरकारले जति तथ्यांक ल्याए पनि भीडले देखाएको छ, सरकार ग्यासको व्यवस्थापनमा नराम्रोसँग चुकेको छ ।