जनकपुरधाम,धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राख्दै सर्वसाधारणलाई बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्यक उपभोग्य सामग्री खरिदका लागि घरबाहिर निस्कन अनुमति दिएको छ।प्रशासनका अनुसार तोकिएको समयबाहेक कर्फ्यु आदेश पूर्ण रूपमा लागू रहनेछ। नागरिकलाई सुरक्षा निकायले जारी गरेका निर्देशनको पालना गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ।
कर्फ्यु अवधिमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारीसाधनलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसका स्वयंसेवक, तीर्थयात्री, बिरामी तथा विमानस्थल आवतजावत गर्ने यात्रुले सम्बन्धित निकायबाट जारी परिचयपत्र वा हवाई टिकटका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ। प्रशासनले नागरिकलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न समेत अनुरोध गरेको छ।