काठमाडौं, लगातारको वर्षापछि आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।प्रहरीले शनिबार बिहान ५ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
त्यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।इलाम नगरपालिका–९ अन्तर्गत मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि यातायात ठप्प भएको छ।रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबै यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।