काठमाडौं, नेपाल एसोसिसयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित भएका छन् । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट पाण्डे दुईवर्षे कार्यकालको अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षको लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । पाण्डे एक सय ८८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत तथा जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भए । उनले विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गरेका हुन् ।
उपाध्यक्षमा सविता केसी भट्टराई एक सय ७७ मतसहित निर्वाचित भइन् भने महासचिवमा राजकुमार देवकोटाले एक सय ५८ मत प्राप्त गर्दै जित हासिल गरे भने सचिवमा रमेश पराजुली एक सय ९५ मतसहित निर्वाचित भए । कोषाध्यक्षमा डिकी शेर्पा २०८ मतसहित विजयी भइन् । सह–सचिव÷सह–कोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित निर्वाचित भए ।
आठ सदस्यीय कार्यसमिति सदस्यमा स्मारिका थापाले सर्वाधिक २११ मत प्राप्त गरिन् । निर्वाचित अन्य सदस्यमा प्रकाश लोहनी २१०, नवीन गुरुङ २०५, दिनेश मैनाली १८९, सुमनलाल श्रेष्ठ १८८, स्वस्तिका प्रधान १८४, संकेत दाहाल १६५ र विभास पौडेल १५८ मतसहित निर्वाचित भए ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले नाट्टामा सुशासन र पारदर्शिता कायम गर्दै सदस्यहरूको सहभागिता विस्तार गर्ने बताए । साधारणसभाको शुक्रबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका थिए ।