काठमाडौं, नेपाल टेलिकमको खुद नाफा करिब ४८ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको मुनाफामा ४७ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आठ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा छ अर्ब ६७ लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीको कर अघिको मुनाफा पनि उल्लेख्य बढेको छ । चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको नौ अर्ब ८५ करोड दुई लाख रुपैयाँभन्दा तीन अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४ दशमलब ६६ प्रतिशत बढी हो । कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ ।
समीक्षा अवधिमा टेलिकमले ३४ अर्ब ९५ करोड चार लाख रुपैयाँ सञ्चालन आय गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो । यसअनुसार सञ्चालन आय एक अर्ब पाँच करोड ५९ लाख रुपैयाँ अर्थात् ३ दशमलव १२ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो । कुल आय एक अर्ब एक करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको टेलिकमले जनाएको छ ।
यस अवधिमा टेलिकमको ईविट्टा २० अर्ब ४८ करोड एक लाख रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा यो रकम एक अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १० दशमलब ७३ प्रतिशतले बढी भएको जनाएको छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा पुगेको छ । टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने कमी आएको छ । समीक्षा अवधिमा ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलब ८८ प्रतिशतले घटेको छ । यस्तै, जिएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २ दशमलब २८ प्रतिशतले बढेको छ ।